काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले संसद बैठकमा आफूहरुलक्षित नाराबाजीलाई असंवैधानिक, अलोकतान्त्रिक, अनैतिक र निकृष्ट कामको संज्ञा दिएको छ ।
नेकपा एमालेले १४ सांसदलाई आफूले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै आजको संसद बैठकमा नाराबाजी गरेको थियो ।
एमालेको नाराबाजीलाई नेकपा एसले आफै नांगिने हर्कत भनेको हो ।
नेकपा एसका सांसद जीवनराम श्रेष्ठले प्रतिनिधिसभाको दुई पटक हत्या गर्ने एमाले अध्यक्ष ओलीको नेतृत्वमा भएको आजको हर्कत अनौठो पनि नभएको बताउनुभयो ।
एमालेका सांसदहरुले आफूबाट विभाजित भएर बनेको एकीकृत समाजवादीका सांसदहरुलाई गैरसांसद भन्दै संसदबाट निकाल्न माग गरेर नाराबाजी गरेका थिए ।
बैठक सुरु हुनासाथ एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले सचेतक विशाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो ।
सचेतक भट्टराईले एमाले विभाजनको मतियार किन बन्नुभो भन्दै सभामुखविरुद्ध प्रश्न गर्नुभयो ।
एमालेले १४ सांसदलाई गरिएको कारबाहीलाई मान्यता नदिएकोमा जवाफ माग गरेपछि सदनबाटै सभामुखले नियमानुसार गरेको बताउनुभयो ।
तर एमालेले नाराबाजी नरोकपछि सभामुख सापकोटा जंगिनुभयो । प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग उहाँ जंगिनुभएको हो ।
उहाँले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताउनुभयो ।
आफूलक्षित नाराबाजी हुन थालेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान ध्यानाकर्षण गराउनुभयो । उहाँले सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिनुभयो ।
सभामुखले भनेको संसद नियमावलीको नियममा सभामुखको आचरणको आलोचना गर्न नहुने विषय छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा टेबुल गरेको छ ।
आज प्रतिनिधिसभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधिसभासमक्ष टेबुल गर्नुभएको हो ।
लगत्तै संसद बैठक स्थगित गरिएको थियो । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाउनुभएको छ ।