काठमाडौँ – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिनुभएको छ ।
आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिनुभएको हो ।
उहाँले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताउनुभयो । त्यस्तै यो विषय प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरीत सभामुख सापकोटाले बताउनुभयो ।
एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्को शब्दमा बोल्नुभएको थियो । उहाँले सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिनुभयो ।
‘माननीय सदस्यहरु देशमा संविधान छ, कानुन छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ उहाँले भन्नुभयो, ‘फेरि पनि म म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।
सभामुखले भनेको नियमावलीको नियममा सभामुखको आचरणको आलोचना गर्न नहुने विषय छ ।