काठमाडौँ : नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । सुदूरपश्चिम बाहेकका अन्य ६ वटा प्रदेशमा इन्चार्जदेखि लिएर विभिन्न जनवर्गीय मोर्चा र संगठनको जिम्मेवारी तोकिएको केन्द्रीय सदस्य एवं सांसद जीवनराम श्रेष्ठले जानकारी दिए । भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, विभिन्न मोर्चा संगठन र विभागको जिम्मेवारी बाँडफाँड गरेको हो ।
नेता श्रेष्ठका अनुसार पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेशमा इन्चार्ज भने तोकिएको छैन । त्यहाँको इन्चार्जका लागि नेतृ गरिमा शाहको नाम प्रस्ताव गरिएको भए पनि टुंगो लागिसकेको छैन ।
यस्तै एकीकृत समाजवादीले सम्पर्क विशेष समितिको इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई दिएको छ । उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी विश्वनाथ प्याकुरेललाई दिइएको छ । एकीकृत समाजवादीको मोर्चा इञ्चार्जको जिम्मेवारी डा. विजय पौडेल, प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडा र प्रवास क्षेत्र हेर्ने जिम्मेवारी श्रीप्रसाद शाहलाई तोकिएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए । एकीकृत समाजवादीले डा.बेदुराम भुसालको संयोजकत्वमा सचिवालयसमेत गठन गरेको छ । सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डेय, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन् ।
यस्तै पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक दस्तावेज र विधान दस्तावेज लेखनका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डेय, गंगालाल तुलाधार, डा. विजय पौडेल, प्रकाश ज्वाला, जग्गनाथ खतिवडा, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक रहेका छन् ।
निर्वाचन आयोग समिति हेर्ने जिम्मेवारीमा राजेन्द्र पाण्डेय, डा. विजय पौडेल र रामकुमारी झाँक्रीलाई तोकिएको छ । त्यस्तै संसदीय समिति हेर्ने जिम्मेवारी विरोध खतिवडा, जीवनराम श्रेष्ठ र कल्याणी खड्कालाई तोकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।