काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले सभामुख अग्नी सापकोटालाई बहिस्कार गर्ने चेतावनी दिएका छन् । सन्तुलित भूमिका खेल्नु पर्ने सभामुख सापकोटाको भूमिका सन्तुलित नभएको भन्दै उनीहरुले बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
एमालेले सांसद पदबाट मुक्त गरेका सांसदहरुलाई पनि सभामुख सापकोटाले मुक्त नगराएर सभामुखले निश्पक्ष भूमिका खेल्न नसकेको एमालेको आरोप छ ।
एमालेले कारबाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले पदमुक्त भएको घोषणा नगरिदिएकाले उनीहरुको सांसद पद जोगिएको र एकिकृत समाजवादी पार्टी खोल्न सजिलो बनाएको एमालेको भनाई छ । सभामुख सापकोटाको भूमिकाप्रति कानुनी प्रश्न समेत उठाउदै एमालेले सर्वोच्च अदालतमा उहाँका विरुद्धमा मुद्धा दर्ता गरेको छ ।
कानुनी उपचारसँगै उहाँलाई राजनीतिक तथा नैतिक दवावमा समेत पार्ने योजना बनाइएको एमाले नेता आनन्दप्रसा पोखरेलले जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “सभामुखलाई हामीले अन्य ठाउँबाट पनि चुनौती दिनेछौँ, उहाँले माओवादी नेताको जस्तो भूमिका खेल्नुभयो, सन्तुलित हुनुभएन भने उहाँलाई हामीले बाहिस्कार समेत गर्नेछौँ ।”
संसद अहिले बन्द भएकाले उहाँका विरुद्धमा गर्ने धेरै काम नभएको बताउदै उहाँले संसद चलेपछि उहाँका विरुद्धमा धेरै दवाव पारिने उहाँले बताउनुभयो ।