काठमाडौँ । नेकपा एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादीमा खुलेका १० सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आफ्नो सनाखत गराएका छन् । भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ तथा मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले आफूहरु एकीकृत समाजवादीमा रहेको सनाखत गराएका हुन्।
निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा तोकेपछि प्रदेशसभाहरुमा एमाले सांसदहरुले आफ्नो कित्ता ‘क्लियर’ गरेका हुन्। प्रदेश १ सभामा माधव कुमार नेपाल समूहमा रहेका १८ सांसद रहेकामा १० जना एकीकृत समाजवादीमा लागेका हुन् । योसँगै नेपाल समूह छाडेर एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यको पद अब धरापमा पर्ने देखिएको छ ।
९३ सदस्यीय प्रदेश सभामा सभामुखसहित एमालेका ५१ सांसद थिए । यसअनुसार सरकार बनाउन ४७ सांसदको मत चाहिन्छ । आज निर्वाचन कार्यालयमा माधव नेपालको एकीकृत समाजवादीमा १० जनाले सनाखत गराएसँगै अब एमालेमा सभामुखसहित ४१ सांसद मात्र रहनपुगेका छन् । योसँगै केही दिनअगाडि मात्रै मुख्यमन्त्रीमा नियुक्त भीम आचार्य अल्पमतमा परेका छन् ।
आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । योसँगै प्रदेश १ सभामा पनि एमाले विभाजन भएको छ भने एमालेले सरकार बनाउने बहुमत पनि गुमाएको छ ।