काठमाडौं । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री डा रामशरण महतले आफुले महामन्त्रीमा उम्मेदावरी नदिने दावी गर्नु भएको छ ।
सभापतिका लागि आकांक्षा देखाउदै आउनु भएका महतले मिलाउने नाममा आफुलाई महामन्त्रीको उम्मेदवार बनाउन खोजिएमा अस्विकार गर्ने स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेता महतले महामन्त्रीमा आफुभन्दा धेरै कनिष्टहरु उठ्ने देखिएकाले आफु उनीहरुसँग प्रतिश्पर्धा गर्न नचाहेको उल्लेख गर्नुभयो ।
उहाँका सहोदर भाइ तथा बर्तमान सहमहामन्त्री डा प्रकाशसरण महतले समेत महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले पनि उहाँले आफ्नै भाईसँग प्रतिश्पर्धा नगर्नका लागि महामन्त्रीमा उठ्न नचाहेको जस्तो देखिएको छ ।
काँग्रेसमा डा रामशरण महत पौडेल पक्ष मानिनुहुन्छ भने डा. प्रकाशरण महत देउवा पक्ष मानिनुहुन्छ । “म सभापतिको दावेदार हुँ, सवै हिसावले म सभापतिका लागि स्वभाविक उम्मेदवार हुँ, त्यस बाहेक अन्य पदमा म जान्न,” उहाँले भन्नुभयो ।
पुर्व अर्थमन्त्री समेत रहनु भएका डा महतले मन्त्रीपरिषद् विस्तारमा ढिलाई हुदाँ आफुलाई पनि नमजा लागिरहेको टिप्पणी गर्नुभयो ।