Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सरकार गठनको डेढ महिना बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार अनिश्चित

सरकार गठनको डेढ महिना बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार अनिश्चित

सरकारमा जानेको नामबारे गठबन्धन सम्मिलित दलमा कुनै विवाद नरहेको नेताहरुको दाबी
  • आइतवार, भाद्र १३ २०७८

  • 750
    SHARES

  • सरकार गठनको डेढ महिना बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार अनिश्चित

    काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार मुलुकले पाएको डेढ महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ सरकार गठनताका एमालेमै रहेका माधव नेपाल समूहका सांसदको साथले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा योग्य तुल्याएको थियो ।

    असार २९ गते पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले लामो समयसम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्नुलाई उहाँको असफलताको संकेतको रुपमासमेत औल्याउन थालिएको छ । सत्तारुढ गठबन्धनले यसअघि सत्तापक्ष न प्रतिपक्षको स्थितिमा रहेको माधव नेपाल समूहलाई कुरिरहेको भने पनि नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले मान्यता दिएसँगै अब त्यसबाट मुक्ति मिलिसकेको छ । अब भने मन्त्रिपरिषद्लाई पूर्णता दिनमा ढिलाइ गर्ने कुनै बहाना सरकारसँग छैन । तरै पनि मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने नेताहरुको संकेत छ ।

    नवगठित सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन समय लाग्ने बताउनुभयो । प्रधानमन्त्री देउवा ज्योतिषीप्रति पनि विश्वास राख्ने हुँदा ज्योतिषशास्त्रमा साइत नजुर्दा र सार्वजनिक विदालगायतका स–साना कारणले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने सांसद खतिवडाले बताउनुभयो ।

    सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच आज पनि मन्त्रिमण्डल विस्तारबारे छलफल भएको थियो । तर छलफल ठोस निष्कर्षमा भोलि मात्र पुग्ने बताइएको छ । गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन नसकेको भएपनि आ–आफ्नो पार्टीमा कुनै समस्या नरहेको नेताहरु बताउँछन् ।

    मन्त्रीका आकांक्षी धेरै भएपनि नेतृत्वलाई सरकारमा जानेको नाम टुंग्याउन कठिन भएको प्रष्टै देखिएको छ । तर त्यस्तो समस्या नरहेको सत्तासीन दलका नेताहरुको दाबी छ । पार्टीले आधिकारिकता पाएलगत्तै सरकारमा जाने घोषणा गरेको एकीकृत समाजवादीभित्र यस्तो समस्या नरहेको नेता बेदुराम भुसालले बताउनुभयो ।

    उहाँले मन्त्रालयको अन्तिम टुंगो लाग्नसाथ पार्टीमा मन्त्रीहरुको पनि टुंगो लाग्ने बताउनुभयो । एकीकृत समाजवादीको राष्ट्रिय सभा संसदीय दलका नेतमा आजै चुनिनुभएका भुसालले कहिलेसम्ममा मन्त्रिपरिषद् विस्तार भइसक्छ भन्नेमा भने एकिन नभएको बताउनुभयो ।

    अर्काे सत्तासझोदार दल माओवादी केन्द्रका सबै सांसद मन्त्री बन्न खोज्दा आफूलाई तनाव भएको अध्यक्ष प्रचण्डले यसअघि सार्वजनिक कार्यक्रममै भन्नुभएको थियो । यद्यपि उहाँले अन्य सबै विषयमा सहमति जुटे आफूलाई मन्त्रीको नाम टुंग्याउन कुनै समस्या नरहेको बताउँदै आउनुभएको छ ।

    यता कांग्रेसभित्रपनि सरकारमा को–को जाने भन्नेबारे कुनै विवाद नरहेको नेताहरु बताउँछन् । नेता गोपालमान श्रेष्ठले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने बताउँदै कांग्रेसभित्र समस्या नरहेको जिरिक गर्नुभयो ।

    कांग्रेसले अहिले प्रधानमन्त्रीसहित ४ मन्त्रालय लिइसकेको छ भने माओवादी केन्द्रका दुई मन्त्री छन् । बाँकी मन्त्रालयको भार अहिले प्रधानमन्त्री देउवाकै काँधमा छ । लामो समयसम्म धेरैजसो मन्त्रालयल नेतृत्वबिहीन रहन पुग्दा ती मन्त्रालय अन्तर्गतका गतिविधि ठप्पप्रायः छ ।

     


    आइतवार, भाद्र १३ २०७८०७:३५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij