काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले झण्डै डेढ महिनापछि पूर्णता पाउने भएको छ । सरकारलाई पूर्णता दिन सत्तारुढ दलका नेताहरुले आजदेखि गृहकार्यलाई फेरि तिव्रता दिन लागेका छन ।
नेकपा एमालेको तत्कालिन माधव नेपाल समुहका कारण अवरुद्ध हुदै आएको सरकार विस्तार कार्य नेपाल समूहले हिजो नयाँ पार्टी दर्ता गरेकाले आजदेखि गृहकार्य हुन थालेको हो ।
नेपाल समूहले निर्वाचन आयोगबाट नेकपा एकिकृत समाजवादी पार्टीको मान्यता हिजो पाएको छ । हिजो नै जनता समाजवादी पार्टीबाट विभाजित भएको महन्थ ठाकुर नेतृत्वको समूहले पनि लोकतान्त्रीक समाजवादी पार्टीको मान्यता पाएको छ ।
नयाँ दुवै पार्टी सहित काँग्रेस, माओवादीलगायतका पार्टीहरुले सरकारमा पठाउने मन्त्रीहरुको नामावलीका बारेमा आजबाट फेरि छलफल गर्न लागेका हुन ।
एकिकृत समाजवादी पार्टीका नेता बेदुराम भूसालले आज सरकारमा सहभागीताका बारेमा छलफल हुने र भोली मन्त्रिपरिषद् विस्तार हुने संभावना रहेको जानकारी दिनुभयो । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उहाँले सरकारमा जाने बारे सायद आज बेलुका टुंगो लागेर भोली विस्तार हुने बताउनुभयो ।
आफुनो नयाँ पार्टीका लागि संभवतः छ मन्त्रालय भागमा पर्ने र राम्रो काम गर्न सक्ने र विश्वासीला नेताहरुलाई सरकारमा पठाइने एकिकृत समाजवादीका अर्का नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
त्यसैगरी ठाकुर नेतृत्वको लोकतान्त्रीक समाजवादी पार्टीले पनि सरकारमा सहभागीताका लागि प्रधानमन्त्री देउवा समक्ष इच्छा जाहेर गरेको छ । तर उनीहरुलाई सहभागी गराउने बारेमा पाँच दलिय गठबन्धनले निर्णय भने नगरेकाले उनीहरु तत्काल सहभागी हुने संभावना कम रहेको नेताहरुले बताएका छन् ।
सरकारमा यसअघि देखि नै रहेका काँग्रेस र माओवादीले पनि आजै मन्त्रीहरुको नाम टुंगो लगाउने तयारी गरेको बताइएको छ ।