काठमाडौँ । काँग्रेस केन्द्रीय कार्यालयमा आज देखि थप पाँच नेताहरुले रिले अनसन सुरु गरेका छन् । कृयासिल सदस्यता विवादका कारण लामो समयदेखि धर्ना कार्यक्रम चलिरहेको पार्टी कार्यालयमा आज विहान ११ बजेदेखि २४ घण्टे धर्ना सुरु भएको हो ।
आज पहिलो दिन काँग्रेसको नुवाकोट जिल्ला सभापति जनदिशनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य, धादिङ सभापति रमेश धमला, युवा नेताद्धय रंजीत कर्ण र डिल्लीराम सुवेदी धर्नामा बस्नु भएको हो । उहाँहरु भोली विहान ११ बजेसम्म बस्ने र त्यसपछि अन्य नेताहरु रिले अनसनमा बस्ने भएका छन् ।
तीन सुत्रिय माग राखेर आफुहरु रिले अनसनमा बसेको युवा नेता सुवेदीले जानकारी दिनुभयो । क्रियाशिल सदस्यताको सवै विवरण तत्काल सार्वजनिक गर्नुपर्ने, सदस्यता सूचीमा प्राविधिक त्रुटि सच्याउने समय दिनुपर्ने र सवै जिल्लामा सभापति चयनका लागि समान व्यवस्था गर्नुपर्ने माग उहाँहरुले राख्नु भएको छ ।
जिल्ला सभापतिहरु चयनका लागि विधानमा समान व्यवस्था भएपनि निर्वाचन निर्देशिकामा फरक फरक गराइएकोप्रति उहाँहरुले आपत्ति जनाउनु भएको छ ।उहाँहरुको रिले अनसनप्रति पार्टीका शिर्ष नेतहरुले नै रिले अनसनस्थलमै पुगेर ऐक्वबद्धता जनाउनु भएको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा शेखर कोइरालालगायतले उनीहरुको मागप्रति सहमती जनाउदै रिले अनसनप्रति ऐक्वबद्धता प्रकट गर्नु भएको हो ।