काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य विश्वासको मत नलिदै अल्पमतमा परिसकेको नेताहरुले दावी गरेका छन् ।
एमालेको दुवै पक्षको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी शाक्य अहिले एउटा पक्षमा लागेपछि अर्को पक्षले समर्थन नगर्ने भएकाले अल्पमतमा पर्नु भएको हो ।
उहाँलाई यसअघि दुवै पक्षले समर्थन गरेपछि एमालेको प्रदेश सभाको संसदीय दलको नेतामा निर्वाचित भइ बहुमत देखिएकाले प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै ओलीको खरो विरोधीका रुपमा देखिनु भएकी शाक्य हिजोदेखि ओली पक्षमा नै गएपछि उहाँलाई अरु पक्षले समर्थन नगर्ने भएका हुन ।
ओली नेतृत्वको एमालेको हिजो बसेको बैठकमा मध्यमार्गी नेताहरुको समूहसँगै उहाँ पनि सहभागी हुनुभएको थियो । त्यसपछि माधव नेपाल पक्षले उहाँलाई आफ्नो समर्थन नगरेको स्पष्ट पारेको छ ।
बागमतगी प्रदेश सभामा सिंगो एमालेको ५६ सिट रहेको र ५५ सिटको समर्थन पाउने व्यक्ति मात्रै मुख्यमन्त्री हुन पाउने भएकाले यसअघि उहाँ मुख्यमन्त्री हुनुभएको तर अव भने सवै एमालेको समर्थन नहुने वित्तिकै शाक्य अल्पमतमा परिसकेको नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले दावी गर्नुभयो ।
उहाँले आफ्नो पक्षमा कम्तीमा १२ जना सांसद रहेकाले आफुहरुसँगै काँग्रेस वा माओवादीको समर्थन विना शाक्य मुख्यमन्त्री बनिरहन नसक्ने बताउनुभयो ।
एमाले बाहेकका अरु सवै मिलेर नयाँ सरकार बनाउन सजिलै सक्ने र त्यो संभावना रहेको नेता पाण्डेले जानकारी दिनुभयो ।
उहाँले नयाँ गठबन्धनबाट आफु नै मुख्यमन्त्रीको दावेदार हुने आशय पनि व्यक्त गर्नुभयो । “म त पहिलेदेखि नै दावेदार हुदै हुँ, अहिले पनि हुँ, गठवन्धनको समर्थन भयो भने हुन्छु, उहाँले भन्नुभयो ।