काठमाडौँ –नेकपा एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ दिएका वरिष्ठ नेता झलनाथ खनालले आफूहरुको समूहमा मध्यपन्थी अवसरवाद जन्मिएको भन्दै उनीहरु लामो समय टिक्न नसक्ने दाबी गर्नुभएको छ।
चन्द्रागिरीमा जारी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै खनालले माधव नेपाल समूह छाडेर एमालेमा बसेका १० जना स्थायी कमिटी सदस्यप्रति कटाक्ष गर्नुभएको हो।
खनालले भन्नुभयो, ‘हाम्रो स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले नराम्ररी अल्झायो । यो भनेको मध्यपन्थी अवसरवादको रुप हो । अन्ततःयसले दक्षिणपन्थलाई सघाउँछ । तर मध्यपन्थको आयु लामो हुँदैन,यो अल्पायुको हुन्छ र चाँडै परिणाम देखाउँछ । हाम्रो केन्द्रमा मध्यपन्थी जन्मियो ।
खनालले केन्द्रमा देखिएको मध्यपन्थ प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म फैलिने भन्दै केपी ओलीविरुद्धको भण्डाफोर अभियानलाई मध्यपन्थीहरुविरुद्ध पनि केन्द्रित गर्नुपर्ने बताउनुभयो। उहाँले अहिलेको एमाले विभाजन नव निर्माणको लागि विद्रोह रहेको बताउनुभयो।