काठमाडौँ – नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाव दिएको छ ।
पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै एमालेले उक्त सनाखत नबुझ्न आयोगलाई दबाव दिएको हो।
मंगलबार नेकपा एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका नेताहरु निर्वाचनमा आयोग पुगेका थिए । खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताउनुभयो। नेकपा एमाले दल फुटाउनको निम्ति अध्यादेश ल्याएको भन्दै विभाग प्रमुख खरेलले मूल दल (एमाले) लाई रोहबरमा राखेर काम गर्न आग्रह गर्नुभयो।
आयोग पदाधिकारीलाई भेटेपछि खरेलले भन्नुभयो, ‘हामीले निर्वाचन आयोगलाई भनेका छौँ, १४ जना ह्वीप उल्लंघन गर्ने व्यक्तिहरु र पार्टीको निर्देशन लागू गरेर ह्वीप उल्लंघन गरेका छन्, तिनीहरुलाई कारबाही गरिएको छ, तिनीहरुलाई कारबाही गरिनुपर्छ भनेका छौँ, र तिनीहरुको नामलाई पनि समावेश नगरियोस्, तिनीहरुलाई नाम समावेश गरेर उनीहरुलाई सनाखत गराउने प्रक्रियामा समावेश नगराइयोस् ।’
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरुले नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र ल्याउनुपर्ने बताउनुभयो।
उहाँले संघीय संसदका सदस्यहरुको हकमा भने संघीय संसदबाट जारी गरिएको परिचय पत्र लिएर उपस्थित हुनुपर्ने प्रावधान रहेको बताउनुभयो।
प्रवक्ता श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने र भारतमा उपचाररत नेता झलनाथ खनालको विषयलाई भने आयोगले कानुनी विषय हेरेर निष्कर्ष निकाल्ने बताउनुभयो।