काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठक आज (सोमबार) बस्ने तय भएको छ । आज दिउँसो १ बजे नवौं अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी दल एमालेका कारण बैठक सञ्चालन हुने सम्भावना न्यून छ । सभामुखले सूर्य चिह्नबाट लडेका सांसद हटाउन अस्वीकार गरेपछि एमालेले विरोध गर्दै आएको छ । एमालेले यसअघि नै प्रदेश सभा चल्न नदिने भन्दै आएको छ ।
प्रदेश सभा सदस्य अजय शाही र विमला खत्री ओलीलाई एमालेले गरेको कारबाही सभामुख पूर्वबहादुर घर्तीले अस्वीकार गर्नुभएको थियो । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो । तर ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठायो ।
त्यसपछि एमालेले प्रदेशसभाका दुवै जना सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताइसकेको छ । हिजो पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो ।