काठमाडौं । लगातार दोस्रो दिन आज नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १९ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा २२ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।
यसअघि हिजो शनिबार २०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २३८२ जना संक्रमणमुक्त भएका थिए ।
मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा कोरोना परीक्षण भएकोमा १९ सय २० जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा २४ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ भने मृतकको संख्या १० हजार ५०९ पुगेको छ । हाल देशभर ३८ हजार ७५१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैबिच , काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे निर्णय गर्न मंगलबार बिहान तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्ने भएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलबार बिहान बैठक बस्ने बताउनु भएको छ । पछिल्लोपटक साउन २८ गते काठमाडौँ उपत्यकामा निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्ब्याइएको थियो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणदर बढ्दै गएको बताउनु भएको छ ।