काठमाडौँ – निर्णायक मोडमा माधव नेपालको साथ छाडेका भनिएका नेताहरुले एकपछि अर्काे गरी आफूहरुले धार परिवर्तन नगरेको घोषणा गर्न थालेका छन् ।
एकताका लागि आफूहरु संघर्षमा रहेको तर माधवकुमार नेपालको साथ नछाडेको उनीहरु बताउन थालेका हुन् ।
माधव समूहको साथ छाडेको भनिएका एक प्रभावशाली नेताले आफूहरुले अध्यक्ष ओलीलाई सहमतिमा ल्याउन प्रयास गरिरहेको बताउनुभयो ।
यदि आउँदो बुधबारसम्म सहमतिका लागि ओली तयार नभए आफूहरु माधव नेपालले निर्माण गर्ने नयाँ पार्टीमा जाने उहाँले बताउनुभयो ।
हाललाई आफ्नो नाम गोप्य राखिदिन आग्रह गर्दै उहाँले सकेसम्म एमाले एक रहोस् भन्ने चाहनाका साथ अन्तिम प्रयास गरिरहेको तर ओली लचक नभए नयाँ पार्टीमा जान बाध्य हुने बताउनुभयो ।
बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि आफूले माधवकुमार नेपालको साथ नछाडेको प्रष्ट पार्नुभयो । शाक्यको यस्तो घोषणाले ओली समूहमा खैलाबैला मच्चिएको छ ।
मुख्यमन्त्री पद पाएर नेता नेपालको साथ छाडेको भन्ने आरोप गलत रहेको उहाँले बताउनुभयो । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा शाक्यले ओली र नेपाल दुवै नेताको सहमतिमा आफू मुख्यमन्त्री बनेको दाबी गर्नुभयो ।
शाक्यले एमाले एक रहने सम्भावना अझै पनि जीवितै रहेको बताउनुभयो । नेतृत्वले केही कुरामा लचकता प्रस्तुत गरे केही दिनभित्रै नयाँ उथलपुथल हुने दाबी गर्नुभयो ।
आफूले अहिले पनि माधव नेपालको साथ नछाडेको प्रष्ट पार्दै शाक्यले एकताको वातावरण बन्नेमा आशा व्यक्त गर्नुभयो ।
तर माधवकुमार नेपालको नयाँ पार्टीमा लागेका नेताहरुले भने ओलीसँग एकताको सम्भावना नरहेको बताएका छन् ।
नेता मेटमणि चौधरीले एकता गराउँछौँ भनेर पवित्र उदेश्यका साथ केही नेताहरु लागे पनि उहाँहरुको हातमा शून्यता बाहेक केही नलाग्ने जिकिर गर्नुभयो ।
अबको पाँच दिनभित्र एकता गराउँछौँ भनेर लागेका सबै नेताहरु नेकपा एकिकृत समाजवादी पार्टीमै फर्कने उहाँले दाबी गर्नुभयो ।
राजनीतिक विश्लेषक पुरन्जन आचार्यले पनि एमाले नेतृत्वमा ओली रहेसम्म एकता सम्भव नरहेको बताउनुभयो ।
एमालेमा तेस्रो धार जन्मने हल्ला फैलिए पनि तत्काल सम्भव नरहेको उहाँले बताउनुभयो । एकताको पक्षमा छौँ भनेर बीचमा उभिएका नेताहरु पनि अन्ततः माधव नेपालको नयाँ पार्टीमा जाने सम्भावना आफूले देखेको आचार्यले बताउनुभयो ।
एमालेमा अध्यक्ष केपी ओलीसँगको लामो आन्तरिक संघर्षपछि माधवकुमार नेपाल नयाँ पार्टी निर्माण गरेर अघि बढ्ने निर्णयमा पुग्नुभएको हो ।
अब ओली नसुध्रिने निष्कर्षका साथ नयाँ पार्टी निर्माण गरे पनि एमाले विभाजनमा उहाँलाई निकट नेताहरुले खुलेर साथ दिएका छैनन् ।
तर उनीहरुलाई ओली समूहमा पनि न्यानो स्वागत भएको देखिएको छैन ।