काठमाडौँ । नेकपा एमालेका १४ सांसदमाथि भएको कारवाहीको विषयलाई लिएर सभामुख अग्नि सापकोटा सत्तापक्ष र प्रतिपक्षको चेपुवामा पर्नुभएको छ । पार्टी हितविपरित गतिविधि गरेको भन्दै एमालेले कारबाहीका लागि १४ सांसदको नाम सभामुखकहाँ पठाएपनि कारबाही प्रक्रिया अघि नबढाएको भनेर दबाब दिइरहेको छ भने अर्कोतर्फ सत्तापक्षको दबाव छ ।
बिहीबार बिहान एमालेका सांसदहरुले तत्कालन आफूहरु अनुकूल निर्णय गर्न भन्दै सभामुख सापकोटाको कार्यकक्षमै पुगेर दबाब दिएका थिए । तर, त्यसक्रममा एमाले प्रमुख सचेतक र सांसदहरुले सभामुखप्रति देखाएको व्यवहारले वातावरण थप असहज बनाएको सभामुख सापकोटाको सचिवलायले जनाएको छ ।
एमाले सांसद महेश बस्नेतले आफूहरुले सभामुखलाई कुनै धम्की नदिएको बताउनुभयो । विगतका नजिरलाई बेवास्ता गर्दै एमाले सांसदमाथिको कारवाहीका लागि भने सभामुखले आलटाल गरेको र निष्पक्ष एवं स्वतन्त्र भुमिका नदेखाएकोले आफूहरुले सामान्य रुपमा बोलेको कुरालई अतिरञ्जित गरिएको सांसद बस्नेतले टिप्पणी गर्नुभयो ।
एमालेकी सचेतक शान्ता चौधरीले सत्तापक्षले बल प्रयोगकको गलत अर्थ लगाएको बताउनुभयो । बल प्रयोग भन्दाबितिक्कै मारपिट गर्ने भनेर बुझ्न नहुने भन्दै धर्नालगायत आन्दोलनका विभिन्न स्वरुप हुन सक्छ भनेर संकेत गर्न खोजेको उहाँले बताउनुभयो । यद्यपि, कुराकानीका क्रममा चर्काचर्की भने भएको सचेतक चौधरीले स्वीकार्नुभयो ।
एमाले सांसदहरु आज पनि ठूलो संख्यमा सभामुखको कार्यकक्षमा पुगेका थिए । आज सभामुखको च्याम्बरमा एमाले सांसदहरु धर्ना दिन पुगेपनि सभामुख भने अनुपस्थित हुनुहुन्थ्यो । आफू उपस्थित नभएपनि सभामुखले फोनमार्फत आश्वासन दिएको बताउँदै सचेतक चौधरीले निर्णय लिन अझै थप ढिला भए एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
बिहीबार एमाले अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओलीले यसै विषयलाई लिएर सभामुखमाथि आक्रोशपूर्ण चेतावनी नै दिनुभयो । अध्यक्ष ओलीले सभामुख माओवादी पार्टीको कार्यकर्ता भएको र न्यायाधीश हुन खोजेको भन्दै सभामुखको कुर्सीमा बस्न मन छ कि छैन ? भनेर चेतावनी शैलीमा प्रश्न गर्नुभएको थियो ।
यता, पूर्वसभामुख दमननाथ ढुंगाना सभामुखलाई कसैले पनि धम्क्याउन नमिल्ने बताउनुहुन्छ । नियम कानून र परम्पराअनुसार सभामुखले गर्ने निर्णयलाई पर्खनुपर्ने भन्दै ढुंगानाले आफूअनुकूल तत्काल निर्णय गर भन्दै दबाब र डरधम्की दिन भने नमिल्ने बताउनुहुन्छ ।
परिस्थिति बिगार्नमा हरेक संस्थाको भूमिका रहेको ढुंगानाको विश्लेषण छ । उहाँले सभामुख अरुको भूमिकाबाट प्रभावित भएर छिटो निर्णयमा पुग्न नसकेको पनि बताउनुभयो । सत्तापक्ष र प्रतिपक्ष दुवैको चेपुवामा सभामुख परेको संकेत गर्दै ढुंगानाले यथार्थमा अहिले कसैको भूमिका ठिक नभएको टिप्पणी गर्नुभयो ।
गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा पक्षमा मतदान नगर्ने माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गर्न भन्दै एमालेले संसद सचिवालयमा मंगलबार सिफारिस पठाएको थियो । तर अहिलेसम्म पनि सभामुखले कुनै निकास नदिएको भन्दै प्रमुख विपक्षी दल एमालेले निरन्तर दबाब दिँदै आएको छ ।