काठमाडौं । सरकारले फेरि देशव्यापी लकडाउन हुने संभावना न्युन रहेको जनाएको छ । तर कतिपय ठाउँमा भने सङ्क्रमणको अवस्थालाई हेरेर आंशिक वा स्मार्ट लकडाउन भने हुनसक्ने सरकारले स्पष्ट पारेको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपाली रेडियो नेटवर्कसँग भन्नुभयो, “जहाँ संक्रमण धेरै हुन्छ, त्यहाँ आंशिक वा स्मार्ट लकडाउन हुन्छ, तर देशभरी नै लकडाउन भने हुदैन ।”
धेरै मानिसले खोप लगाएको र लगाउने क्रम चलिरहेकाले पनि देशभरी लकडाउन हुने संभावना कम रहेको उहाँको भनाई छ ।
त्यसैगरी आम नागरिक पनि धेरै सचेत भइसकेकाले पनि महामारी अव कम हुदै जाने राज्यमन्त्री श्रेष्ठको विश्वास छ । उहाँले उच्च सतर्कता अपनाउन भने सवैलाई आग्रह गर्नु भएको छ ।
“खोप लगाएकालाई पनि फेरि सङ्क्रमण हुदैन भन्न सकिन्न, बढी जटिल नबनाउने मात्रै हो, तर सचेत चाहिं हुनुैपर्छ, मास्क लगाउनु प¥यो, भिडभाड गर्नु भएन, नत्र त फेरि पनि महामारी फैलिन्छ ।” उहाँले भन्नुभयो ।
उहाँले कोभ्याक्स र गावीले अनुदान स्वरुप दिने एक करोड १३ लाख खोप आउने क्रममा रहेको र कुल पाँच करोड २५ लाख खोप आउने सुनिश्चित भइसकेको छ जानकारी दिनुभयो ।
त्यसैगरी चीन सरकारले अनुदानमा दिएको १६ लाख पनि आउन लागेको उहाँले बताउनुभयो ।