काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताउनुभएको छ । आज जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताउनुभयो ।
उहाँले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताउनुभयो । ओलीले भन्नुभयो, ‘मेरो कुरा सुन्दा तपाईँहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ ।’
एमालेले अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेको ओलीले जिकिर गर्नुभयो । उहाँले देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह पनि गर्नुभयो ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले जुम प्रविधिको सुरु गरेको दाबी गर्नुभएको छ । सिङ्गापुरमा उपचारका क्रममा गएका बेला जुम प्रविधिबाट मन्त्रिपरिषदको बैठक राखेर आफूले यसको सुरुवात गरेको उहाँको दाबी थियो ।
उहाँले जुम प्रणाली सुरु नगरेको भए बालबालिकाको पढाइ प्रभावित हुने बताउँदै विद्यार्थीहरुले अहिले मोबाइल फोनबाटै पढ्न पाएको दाबी गर्नुभयो ।