काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संरक्षणमा मात्र नेपालीको शान झल्कने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व भएको बताउनुभयो ।
सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्णरुपमा प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो । बाघ पाइने १३ देशका सरकार प्रमुखहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरे अनुरुप नेपाल सरकारले तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर बाघ संरक्षणका गतिविधि सन्चालन गर्दै आएको जानकारी प्रधानमन्त्री ओलीले गराउनुभएको छ ।
बाघको संख्या बढ्दै गर्दा बाघसँग द्वन्द्व बढ्न सक्ने सम्भावनालाई नकार्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सकेसम्म बाघ र स्थानीय समुदायबीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
आउँदा दिनमा वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।