काठमाडौँ – राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सत्तारुढ पार्टी नेपाली कांग्रेसभित्रै विरोध भएको छ ।
कांग्रेस नेता डा. शेखर कोइरालाले ट्विट गर्दै अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताउनुभएको छ ।
‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न,’ कोइरालाले ट्विटरमा लेख्नुभएको छ, ‘सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्थ्यो । यो चुक प्रधानमन्त्रीबाट भयो । यो कांग्रेसको संस्कार होइन ।’
यस्तै, कांग्रेसका अर्का नेता प्रदीप पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा आफूहरुले विरोध गरेको स्मरण गर्नुभयो ।
‘हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउँदा हामी प्रतिपक्षमा थियौँ। उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार ग¥यौं । आज संसद अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्तिभन्दा फरक छैन,’ उहाँले ट्विट गर्दै भन्नुभएको छ, ‘असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो।’