काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । दुई दिनसम्म चल्ने बैठक बिहान ११ बजेदेखि डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बस्ने जसपा नेता नवराज सुवेदीले बताउनुभयो । पार्टी कार्यालयमा स्थान अपुग भएकाले पार्टी प्यालेसमा बैठक राख्नु परेको उहाँको भनाइ छ ।
सोमबार पार्टीको कार्यकारिणी समिति बैठक बसी केन्द्रीय समितिमा पेस हुने अजेण्डा तय गरेको नेता सुवेदीले बताउनुभयो । बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गर्नुहुनेछ । त्यस विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् ।
यस्तै बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिने नेता सुवेदीले बताउनुभयो । अभियानको संयोजकको रुपमा अशोक राईको नाम प्रस्ताव गरिएको छ ।
अन्य विविध विषयका रुपमा सरकार लगायत संगठन विस्तारका विषयसमेत समेटिएका छन् । जसपाका ८ सय १ जना केन्द्रीय समिति सदस्यमध्ये ६ सयभन्दा धेरै आफ्नो पक्षमा रहेकोे उपेन्द्र पक्षको दाबी छ ।