काठमाडौं । झण्डै २० बर्ष युद्ध गरेको तालिवान लडाकूहरुको समुहले अफगानिस्तानमा भइरहेको युद्ध अन्त्य भएको घोषणा गरेको छ ।
तालिवान विरोधी सरकार पराजित भएको र राष्ट्रपति अशरफ घानीले देश नै छाडेर भागेकाले युद्ध अन्त्य भएको तालिवान विद्रोहीहरुले जनाएका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै आफुहरुको जित भएको उनीहरुको भनाई छ ।
तालिवान विद्रोहीका प्रवक्ताले भनेका छन्, “हामीले चाहे अनुसार हाम्रो देशको मुक्ति र हाम्रा जनताको स्वतन्त्रता हामीले प्राप्त गरेका छौँ, हामी विजयी भएका छौँ, त्यसैले अव युद्ध अन्त्य भएको छ ।”
विदेशी शक्तिहरूले अफगानिस्तानमा फेरि हस्तक्षेप गरेमा विगतको तीतो अनुभव दोहोरिने भएकाले उनीहरुले फेरि त्यस्तो प्रयास नगर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।
देश छाड्नु भएका राष्ट्रपति घनीले भने विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताउनु भएको छ ।
उहाँले देश छोडेर किर्गिस्तान गएपछि गएराती अवेर तालिबानहरूले राष्ट्रपति भवनभित्र पसेर फोटो खिचाएका थिए ।
काबुलमा अहिले अन्यौलता र त्रास छाएको छ भने त्यहाँका बासिन्दा तथा विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन् ।
आफ्नो कार्यस्थल छाडेका मानिसहरू विमानस्थल तर्फ दौडिरहेका छन । अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई पनि अहिले विमानस्थल परिसरको सुरक्षामा खटाउन थालेको छ ।
अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ ।