काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाशाल प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलन आगामी पुसमा गर्ने प्रस्ताव गर्नुभएको छ । आज काठमाडौंको बत्तिसपुतलीमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा उहाँले यस्तो प्रस्ताव अघि सार्नुभएको हो ।
बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलनको मिति तोक्नुभएको छ ।
यसअघि उहाँले सदस्यता वितरण तथा नवीकरणलगायत अन्य सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको थियो । जसमा भदौभित्र सदस्यता विरतण तथा नवीरकणको समय तोकिएको छ ।
त्यस्तै, १० असोजमा एकैदिन देशभर सेल र टोल भेला गर्ने प्रस्ताव गरिएको छ । २० असोजमा वडा सम्मेलन र ३० असोजमा गाउँपालिका र नगरपालिका सम्मेलन गर्ने योजना अघि सारिएको छ ।
माओवादी केन्द्रको जिल्ला अधिवेशन ३० कात्तिकमा र प्रदेश अधिवेशन १५ मंसिरमा गर्ने प्रस्ताव गरिएको छ । सबै जिल्लाको अधिवेशन एकैदिन गर्ने प्रस्ताव गरिएको हो ।
त्यसपछि ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष प्रचण्डले प्रस्ताव राख्नुभएको छ ।
यस्तो छ प्रचण्डको प्रस्तावको कार्यसूचि :
–भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
–असोज १० गते–देशैभर एकैदिन सेल र टोल भेला गर्ने ।
–असोज २० गते वडा सम्मेलन ।
–असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
–कात्तिक ३० गते जिल्ला सम्मेलन ।
–मङ्सिर १५ गते प्रदेश सम्मेलन ।