Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले फुटाएर मात्रै मन्त्रिपरिषद्लाई पूर्णता !

एमाले फुटाएर मात्रै मन्त्रिपरिषद्लाई पूर्णता !

  • शुक्रवार, श्रावण २९ २०७८

  • 1.2K
    SHARES

  • एमाले फुटाएर मात्रै मन्त्रिपरिषद्लाई पूर्णता !

    काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पूरा हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

    गएको असार ३१ गते संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । तर एक महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि सरकारको कार्यक्षमतामाथि प्रश्न उठिरहेको छ ।

    प्रमुख विपक्षी नेकपा एमालेले अब मन्त्रिपरिषद् बिस्तारका लागि पनि अदालतबाट परमादेश माग गर्न आग्रह गर्दै खिल्ली उडाउन सुरु गरेको छ । एमाले सांसद महेश बस्नेतले फलाना फलाना व्यक्तिलाई मन्त्री बनाइ पाउँ भनि अदालतमा रिट हाल्न सत्तारुढ गठबन्धनलाई आग्रह गर्नुभयो ।

    एक महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि विपक्षी मात्रै हैन प्रधानमन्त्री देउवाकै दल नेपाली कांग्रेसभित्रैबाट पनि नेताहरुले प्रश्न उठाएका छन् ।

    आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद् किन बिस्तार गर्न नसकेको भन्दै पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवालाई प्रश्न गर्नुभयो ।

    जवाफमा देउवाले त्यस सम्बन्धनमा दलहरुबीच छलफल चलिरहेको बताएको श्रोतले जनाएको छ । यता देउवा निकट कांग्रेस नेता एनपी साउँदले एमालेको माधवकुमार नेपाल समूहलाई सत्तामा ल्याउने प्रयास भैरहेकाले मन्त्रिपरिषद् बिस्तारमा ढिलाई भएको बताउनुभयो ।

    सरकार निर्माणमा महत्वपूर्ण सहयोग रहेको माधव समूहलाई सरकारमा ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

    श्रोतका अनुसार एमाले फुटाएर भए पनि माधव समूहलाई सरकारमा ल्याउने कसरतमा कांग्रेस र माओवादी लागिरहेकाले सरकार बिस्तारमा ढिलाई भएको हो ।

    एमाले एकताको ढोका लगभग बन्द भैसकेकोले अब अध्यादेश ल्याएर माधव समूहलाई नयाँ पार्टी निर्माण गर्न समय दिने र त्यसपछि मात्रै मन्त्रिपरिषद बिस्तार गर्ने योजनामा सत्ता गठबन्धन छ ।

    माधव समूहका नेता मेटमणि चौधरीले पनि नयाँ दल निर्माण भएपछि मात्रै आफूहरु सरकारमा जाने संकेत गर्नुभयो । त्यसका लागि अब धेरै समय नलाग्ने उहाँले बताउनुभयो ।

    तर यता कतिपय विपक्षी नेताहरुले भने देउवा सरकारले पनि संसद विघटन गरेर देशलाई चुनावमै लैजाने तयारी गरिसकेको सूचना पाएको दाबी गरेका छन् ।

    सूर्य चिन्हबाट चुनाव लडेर ओली सरकारमा मन्त्री बन्नुभएका नेता ह्ृदयश त्रिपाठीले लामो समय सत्ता सञ्चालन गरे लोकप्रियता घट्ने निष्कर्ष देउवाले निकालिसकेको दाबी गर्नुभयो ।

    कार्तिक मंसिरमा संसद विघटन गरेर वैशाखमा चुनाव गराउने तयारीमा देउवा रहेको सूचना आफूलाई प्राप्त भएको उहाँले बताउनुभयो ।

    सत्ता गठबन्धनका नेताहरुले माधव समूहका कारण मन्त्रिपरिषद् बिस्तार हुन नसकेको दाबी गरिरहे पनि स्पष्ट कारण त्यतिमात्रै हैन । किनभने माधव समूहलाई ठाउँ खाली राखेर पनि मन्त्रिपरिषद् बिस्तार गर्न सकिन्थ्यो ।

    मन्त्री बनाउन दबाब दिनेहरुको भिड छिचोल्न नेतृत्वलाई परिरहेको सकस नै मन्त्रिपरिषद्ले पूर्णता नपाउनुको प्रमुख कारण हो ।

    प्रचण्डले मन्त्री बनाउन दबाब दिनेहरुले आफ्नो दिमाग खराब गरिसकेको सार्वजनिक रुपमा बताउनुले पनि यो कुरामा बल पु¥याउँछ ।


    शुक्रवार, श्रावण २९ २०७८०७:४४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij