काठमाडौँ – सरकारले राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याउने तयारी गरेको छ ।
एमालेको माधवकुमार नेपाल र जसपाको महन्थ पक्षको सजिलोका लागि देउवा सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हो ।
अहिले दल विभाजनका लागि पार्टीको संसदीय दलमा र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पु¥याउनै पर्ने प्रावधान छ । ४० प्रतिशत नपुगेपछि एमालेको माधव र जसपाको महन्थ पक्ष संकटमा छ ।
आफूलाई सत्तारोहण गर्न सहयोग गर्ने यी दुई समूहलाई राजनीतिक उद्धार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गर्नुभएको हो ।
एमाले एकताको ढोका पूर्ण रुपमा बन्द भैसकेकोले अब आफूहरुले नयाँ दल बनाउने र त्यसको सजिलोको लागि दल विभाजन सम्बन्धी अध्यादेश आउने माधव समूहका नेता मेटमणि चौधरीले बताउनुभयो ।
जसपाको महन्थ पक्षले पनि दबाब दिइरहेकोले एक डेढ हप्ताभित्रै दल विभाजन सम्बन्धी अध्यादेश आउने उहाँले बताउनुभयो ।
अघिल्लो पटक मधेशवादी दललाई फुटाउन केपी ओली सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि चर्काे विरोध भएको थियो ।
आफूहरुलाई फुटाइदिने ओलीको चालबाजी थाहा पाएपछि मधेशवादी दलहरुले रातारात एकिकरण गरेर जनता समाजवादी पार्टी निर्माण गरेका थिए ।
त्यतिबेला दलहरुले व्यापक विरोध गरेपछि ओली सरकारले उक्त अध्यादेश फिर्ता गरेको थियो ।
तर अहिले एमालेको माधव समूह र जसपाको महन्थ पक्ष पार्टीबिहीन बन्न थालेपछि देउवा सरकारले फेरि दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याउन लागेको हो ।
सरकारको यस्तो तयारीप्रति प्रमुख विपक्षी एमालेले खबरदारी गर्न सुरु गरिसकेको छ । आज प्रतिनिधिसभाको बैठकमा पूर्व अर्थमन्त्री समेत रहेका एमाले नेता विष्णु पौडेलले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने आशंका व्यक्त गर्नुभयो ।
नेपालको वर्तमान राजनीतिक परिस्थितिको उपज रहेको एमालेको माधव समूहको उद्धारका लागि भए पनि देउवा सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने अबको मार्गचित्र रहेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले बताउनुभयो ।
दल विभाजन हुन सजिलो हुने गरी अध्यादेश ल्याउने काम अनुचित भए पनि माधव नेपालको उद्धारका लागि अहिलेको सरकारले त्यो काम गरेरै छाड्ने केसीको दाबी छ ।
तर यता सत्तारुढ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले भने दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन नहुने बताउनुभयो ।
विगतमा ओलीको कदमलाई नेपाली कांग्रेससहित माधव समूह र महन्थ समूहले पनि विरोध गरेकोले अहिले आफ्नो सजिलोका लागि फेरि ओली प्रवृत्ति दोहो¥याउन नमिल्ने उहाँले बताउनुभयो ।
नेपालमा राजनीतिक दलहरुबीच टुटफुट र फेरि एकजुटको श्रृखंला लामो समयदेखि चलिरहेको छ ।
विगतमा माओवादी र एमाले मिलेका कारण कांग्रेसले चुनाव हारेको बताउँदै आएका देउवाले अब एमाले पनि फुटाइदिएर राजनीतिक लाभ लिने सकिने मौका हेरिरहनुभएको छ ।
तर दलहरुलाई फुटाएर लोकतन्त्र बलियो नहुने कुरा नेतृत्वले बुझ्न आवश्यक छ ।