काठमाडौं । गत बैशाखदेखि अल्पमतमा रहेको लुम्बिनी प्रदेश सरकार आज ढल्ने संभावना रहेको छ । आजबाट सुरु हुन लागेको प्रदेश सभाको विषेश अधिवेशनमा सरकार विरुद्ध बहुमत सदस्यले तयार पारेको अविश्वासको प्रस्ताव पेश हुने भएकाले सरकार ढल्ने देखिएको हो ।
मुख्यमन्त्री शंकर पोखरेललाई अहिलेसम्म ३८ सांसदको मात्रै समर्थन देखिएकाले उहाँ विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने संभावना रहेको छ । प्रदेश सभामा हाल कायम ८० सांसदमध्ये विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना सांसद छन् ।
लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध मुख्यमन्त्री पोखरेल पक्षका प्रदेश सभा सदस्य लीला गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश समेत नआएकाले प्रदेश सरकारलाई थप दबाब परेको छ । संसदमा खेल्ने भुमिकाको बारेमा छलफल गर्न एमाले संसदीय दलको बैठक अहिले बोलाइएको छ ।
अविश्वासको प्रस्ताव पारित हुने निश्चित जस्तै भएकाले प्रस्ताव पेस हुनु अगाडि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिने संभावना समेत रहेको जनाइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले भने हिजो नै मन्त्री पदबाट राजीनामा दिनु भएको छ । पोखरेल नेतृत्वको सरकारमा जसपाको निर्णय विपरित सहभागी भएका मन्त्री पाण्डेयले गएराती राजीनामा दिनु भएको हो ।
एमाले नेता पोखरेल तत्कालिन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
बहुमत प्राप्त दलको नेताका रुपमा पोखरेल गत वैशाख १९ गते बिहानै राजीनामा दिएर सोहि दिन अवेर राति पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।