काठमाडौँ – सरकारले भ्रष्टाचार रोक्ने भन्दै ल्याएको न्यूनतम साझा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने सत्तारुढ गठबन्धनको प्रतिवद्धता आफूहरुलाई फसाउने योजना बमोजिम रहेको दाबी गर्नुभयो ।
आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थाहरुमाथि कानुनी कारबाही गर्ने जानकारी दिनुभएको थियो ।
सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारीलाई कारबाही गर्ने उल्लेख गरेपछि एमाले अध्यक्ष ओलीले आफूहरुलाई फसाउने खेल सुरु भएको आरोप लगाउनुभएको हो ।
आज एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार रोक्ने भन्दै ल्याएको न्यूनतम कार्यक्रमको आलोचना गर्दै क्यान्टोनमेनको भ्रष्टाचारबारे पनि छानबिन गर्न चुनौती पनि दिनुभयो ।
सरकारको न्यूनतम कार्यक्रम आफूहरुविरुद्ध गालीगलौजको पुलिन्दा भएको, आरोप पनि उहाँले लगाउनुभयो । झुटो मुद्धा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने योजना हो भने एमालेले त्यसको प्रतिकार गर्ने ओलीले चेतावनी दिनुभयो।
पूर्व प्रधानमन्त्री ओलीले भष्टाचारको छानबिन गर्ने हो भने क्यान्टोनमेनको भ्रष्टाचारबारे पनि छानबिन हुनुपर्ने माग राखेपछि सत्ता गठबन्धनका नेताहरुले सरकारले आवश्यक ठानेमा त्यसको पनि छानबिन हुने प्रतिक्रिया दिएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले क्यान्टोनमेनको भ्रष्टाचारबारे आफूहरुसहितको सरकारले छानबिन गर्न आवश्यक ठाने त्यसको पनि छानबिन हुने प्रतिक्रिया दिनुभयो ।
नेपालका नेताहरु भ्रष्टाचारबाट अछुतो देखिँदैनन । सत्तामा रहुन्जेल भ्रष्टाचारमा डुब्ने र प्रतिपक्षमा रहँदा सरकारमा रहेकाहरुलाई भ्रष्टाचारी भनेर गाली गर्ने चलन स्थापित भएको छ ।
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे ठूला नेताहरुले भ्रष्टाचारको मुद्दा चलाउने धम्की दिएर एक अर्कालाई नै तर्साउने र बचाउने खेल लामो समयदेखि चलिरहेको बताउनुहुन्छ ।
ओली सत्तामा रहँदा बालुवाटार जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि मुद्दा चलाइएको थियो । देउवा सरकारमा आएको भोलिपल्टै गच्छदार धरौटीमा रिहा हुनुभयो ।
अहिले देउवा सरकारमा रहेका बेला स्वास्थ्य सामग्री खरिद प्रकरणको छानबिन गर्ने प्रतिवद्धता न्यूनतम साझा कार्यक्रममार्फत व्यक्त भएपछि एमाले नेताहरु फस्ने डर ओलीको मनमा परेको छ । भ्रष्टाचारबारे नेताहरुका यी व्यवहार ‘काले काले मिलेर खाउँ भाले’ भन्ने उखानसँग ठ्याक्कै मेल खान्छ ।