काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन अनिश्चित भएपछि पार्टीका शिर्ष नेताहरुमै चरम असन्तुष्टि र आक्रोश देखिएको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन अनिश्चित हुनुमा सभापति शेरबदुर देउवा नै दोषी भएको आरोप लगाउनु भएको छ ।
पौडेलले पटक पटक थप गरेको समयमा पनि महाधिवेशन हुने संभावना कमजोर हुदै जानुलाई वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाहीको संज्ञा दिनुभएको छ ।
उहाँले असफल व्यक्तिहरु नै बारम्बार सत्तामा पुग्ने गरेकोभन्दै चरम असन्तुष्टि पनि जनाउनु भएको छ ।
बरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।”
काँग्रेसको विधानले चार वर्षको कार्यकाल तोकेकोमा सामान्य अवस्थामा पनि असाधारण परिस्थिति भनेर एक वर्ष थपिएदेखि नै गल्ती भएको उहाँको आशय छ ।
“सुरुमा एक बर्षथपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि संविधानलाई समातेर छ महिना बढाइयो, आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ,” बरिष्ठ नेता पौडेलले लेख्नु भएको छ ।