काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली वा पर्सी सम्ममा मन्त्रीपरिषद विस्तार गर्ने उहाँ निकट नेताहरुले दावी गरेका छन् । देउवा नेतृत्वको सरकार गठन भएको झण्डै चार हप्ता हुनैलाग्दासम्म मन्त्रीपरिषद् विस्तार नभएको भन्दै ओलोचना भइरहेका बेला उहाँले मन्त्रीपरिषद्लाई पूर्णता दिन लाग्नु भएको हो ।
सरकार गठनका लागि महत्वपूर्ण भूमिका खेलेका नेकपा एमालेको माधव नेपाल पक्षले सरकारमा सहभागी हुने वा नहुने वारेमा निर्णय गर्न नसकेकाले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
नेपाल पक्षका एमाले नेताहरु मध्ये कतिपयले अहिले नै सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन भने कतिपयले अहिले सहभागी हुन नहुने अडान राखेका छन् ।
सरकारमा सहभागी भएमा सांसद पद खारेज हुने र अन्य कानुनी जटिलताहरु पनि आउने भएकाले अधिकांश नेता सरकारमा सहभागी हुन नहुने पक्षमा देखिएका छन् ।
नेपाल समुह सरकारमा सहभागी हुने संभावना न्युन हुदै गएको र उनीहरुले एक, दुई दिनमा औपचारिक रुपमा जानकारी गराउनासाथ मन्त्रीपरिषद् विस्तार हुने देखिएको छ ।
प्रधानमन्त्री देउवा निकट काँग्रेस नेता मिन विश्वकर्माले नेपाल पक्षले एक दुई दिनमा सरकारमा सहभागी हुने वा नहुने बारेको निर्णय गर्नासाथ मन्त्रीपरिषद विस्तार हुने दावी गर्नु भएको हो ।
पार्टी भित्रका विवाद, समस्या र कानुनी जटिलताहरुलाई ध्यान दिनु पर्दा मन्त्रीपरिषद विस्तारमा ढिलाइ भइरहेको उहाँले बताउनुभयो । “छिटो गरेर दुर्घटनामा पर्नुभन्दा ढिलो गरेर सुरक्षित यात्रा गर्नु उपयुक्त हुने भएकाले सुरक्षित यात्राका लागि अहिले ढिला भइरहेको हो,” नेता विश्वकर्माले नेपाली नेटवर्कसँग भन्नुभयो ।
सहयात्री दलहरुलाई साथ लिन र दिनका लागि प्रतिक्षा गर्दा प्रधानमन्त्रीप्रति धेरैले आक्रोस र असन्तुष्टि व्यक्त गर्नुलाई उहाँले स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो ।