Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेपाल पक्षको बैठक : एकताबद्ध पार्टीका लागि ओलीले आत्मालोचना गर्नुपर्ने

नेपाल पक्षको बैठक : एकताबद्ध पार्टीका लागि ओलीले आत्मालोचना गर्नुपर्ने

  • शुक्रवार, श्रावण २२ २०७८

  • 972
    SHARES

  • नेपाल पक्षको बैठक : एकताबद्ध पार्टीका लागि ओलीले आत्मालोचना गर्नुपर्ने

    काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि आत्मालोचना माग गरिएको छ ।

    आजको बैठकमा केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाएका हुन् ।

    असार २८ गते पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको १० बुँदे सहमतिको प्रस्ताव मात्रै निकासका लागि पर्याप्त नभएकाले थप गृहकार्य गरेर पार्टीको छविलाई जनतासमक्ष पुनःस्थापित गर्न लाग्नुपर्नेमा पनि जोड दिइएको छ ।

    साथै अध्यक्ष ओलीले स्थानीय तहस्तरका पार्टीका अधिवेशन र विधान अधिवेशन तोक्ने निर्णय गरेर आफूखुसी अघि बढेकाले एकताको प्रक्रिया चलिरहेका बेला दुवै पक्षका समानान्तर गतिविधि हुन नहुने बैठकमा प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी ओलीसँग एकताको सम्भावना क्षीण हुँदै गएको निष्कर्ष निकालेका छन् ।

    आज बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले केपी ओली एकताको पक्षमा नरहेको र झुट मात्र बोलिरहेको निष्कर्ष निकालेका हुन् । काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेका छन् ।

    ‘दशबुँदे सहमतिले एकताको आधार निर्माण गरेको छ, थप आधार बनाउनका लागि वार्ता भइरहेकाले पार्टीलाई एकताबद्ध बनाउन सजगताका साथ अघि बढ्ने निर्णय गरेको छ,’ बैठकपछि स्थायी समिति सदस्य रघुजी पन्तले भन्नुभयो, ‘यसका लागि थप छलफल र निर्णय गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको छ ।’

    नेपाल समूहको बैठकले एकताको प्रयास चलिरहेका वेला संस्थापन पक्षले महाधिवेशनलक्षित गर्दै गतिविधि गरेको भन्दै रोक्न ध्यानाकर्षणसमेत गरेको छ ।

    यसैबिच,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताउनु भएको छ । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकतामा जोड दिनुभएको हो।

    आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनभयो।

     


    शुक्रवार, श्रावण २२ २०७८०७:५४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij