काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेताहरुले आज नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् । उनीहरुलाई पार्टी प्रवेशसँगै के के जिम्मेबारी दिने भन्ने बारेमा काँग्रेसका नेताहरु र राप्रपा त्यागेका नेताहरुका बीचमा विहानैदेखि छलफल चलिरहेको छ ।
राप्रपा त्यागेका पूर्व मन्त्री सुनिल बहादुर थापाको निवास मालिगाउमा अहिले काँग्रेसका केही नेताहरु सहित छलफल भइरहेको जनाइएको छ ।
पूर्वप्रधानमन्त्री सुर्य बहादुर थापाका सुपुत्र समेत रहनु भएका सुनिल थापालाई काँग्रेसको सहमहामन्त्री बनाउने र अरु तीन जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव माथी छलफल भइरहेको नेताहरुले बताएका छन् ।
बैठकमा सहभागी काँग्रेसका एक नेताका अनुसार राप्रपा त्यागेका पार्टीका ३१ जना मध्ये १९ जना केन्द्रीय तहका नेता रहेकाले केन्द्रीय सदस्यको संख्या बढाउन उनीहरुले माग गरेका छन् ।
राप्रपा परित्याग गरेका मध्ये ३ जनालाई मात्रै केन्द्रीय सदस्य बनाउन सकिने काँग्रेसको अडान छ भने थापा पक्षले संख्या बढाउन आग्रह गरेको जनाइएको छ ।
काँग्रेसमा धेरै योगदान गरेका, पुराना र प्रभावशाली नेताहरु गोविन्दराज जोशी, पुष्करनाथ ओझालगायतका नेताहरुलाई पार्टीबाट निस्कासीत गरेकै बेला थापालाई सहमहामन्त्री र केही नेतालाई केन्द्रीय सदस्य दिएर राप्रपा पुर्व नेताहरूलाई भित्र्याउने तयारी भइरहेको हो ।