काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपाल दुवैको सचिवालयले आज बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् ।
यद्यपि कोटेश्वरस्थित माधव नेपालको निवास नजिककै एक घरमा उनीहरुबीच भेटवार्ता भएको बताइएको छ । सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको बेला प्रचण्डले नेता नेपाललाई भेट्नुभएको हो ।
यसैबीच आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ । ओली र नेपालबीच आज भेट्ने तयारी भइरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
यसअघि ओलीनिकट नेताहरू नेम्वाङ र विष्णु पौडेलले वरिष्ठ नेता नेपालसँग पटक–पटक कुरा गरेका थिए । यसअघि नेपालले ओलीसँग भेट्ने इच्छा देखाउनुभएको थिएन । एमालेमा लामो समयदेखि अध्यक्ष ओली र नेता नेपालबीच विभिन्न विषयमा कुरा मिलेको छैन ।
अध्यक्ष ओलीले नेता नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताउँदै आउनुभएको छ । आन्तरिक विवाद चुलिएको अवस्थामा उनीहरूबीच भेटवार्ताको तयारी भइरहेको हो ।