काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्षबाट केपी ओलीले राजीनामा दिए मात्रै पार्टी एकता हुन सक्ने बटमलाइन अघि सारेको छ ।
यसअघि पार्टी संरचनालाई ७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग गरेको विद्रोही पक्षले अब अध्यक्षबाट ओलीको राजीनामालाई बटमलाइन बनाएको हो ।
प्रतिगमनकारीलाई शिरमा राखेर एउटै पार्टीमा बस्न नसकिने निष्कर्ष माधव समूहका नेताहरुले निकालेका हुन् । एमाले नेतृ रामकुमारी झाक्रीले दुई पटक संसद विघटनलाई प्रतिगमन भन्ने र जनादेशमा गएको भन्नेहरु एउटै पार्टीमा रहन नसक्ने जिकिर गर्नुभयो ।
त्यसैले अब केपी ओलीले एमाले अध्यक्षबाट राजीनामा दिए मात्रै एमाले एकता सम्भव रहेको उहाँको आशय छ ।
माधवकुमार नेपाल समूहका अर्का नेता मेटमणि चौधरीले पनि नेतृत्वमा केपी ओली रहँदासम्म एमाले एकता हुन नसक्ने बताउँदै आउनुभएको छ।
उहाँले त झन ओलीलाई बहुमतबाट हटाउने तयारीमा आफूहरु रहेको समेत बताउनुभयो ।
ओली समूहमा विभिन्न कारणले बसिरहेका सांसद तथा पार्टीका अन्य नेताहरु आफूहरुको समूहमा आउने उहाँको दाबी छ ।
केहीदिनमै बहुमत जुटाएर ओलीलाई हटाउने नसके छुट्टै पार्टी निर्माण गरेर अघि बढ्ने गरी आफूहरु छलफलमा रहेको चौधरीले बताउनुभयो । तर नेतृत्वमा ओली रहँदासम्म एकताको सम्भावना नहुने उहाँले बताउनुभयो ।
यता संस्थापन समूहले पनि वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेमा ठाउँ नरहने घोषणा पटक –पटक गरेको छ । अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधीको संज्ञा दिँदै एमालेमा ठाउँ नरहने घोषणा धेरै पटक गरिसक्नुभयो ।
आज पनि काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले वरिष्ठ नेता नेपाललाई बेसरमको संज्ञा दिँदै रुखो कटाक्ष गर्नुभयो । एमालेको सरकार ढालेर सडकमा पु¥याउनेहरुलाई पार्टीमा स्थान दिन नसकिने ओलीको भनाई छ ।
अध्यक्ष ओलीले माधव नेपाललाई पार्टीमा स्थानै नदिने भनिरहनुभएको छ भने माधव समूहका नेताहरुले ओली नेतृत्वमा रहेसम्म एमाले एकता हुन नसक्ने भनिरहेका छन् ।
यो बीचमा दुई अध्यक्ष रहने प्रावधान राखेर एकताको खोजी पनि नभएको हैन । अध्यक्ष ओलीले नै माधव नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार रहेको घोषणा पार्टी बैठकमा गर्नुभएको थिय
तर माधव नेपालले ओलीको उक्त प्रस्ताव पनि कपटपूर्ण रहेको भन्दै अस्वीकार गरेपछि अहिले ओली समूहका नेताहरु नै विधानमा नभएको व्यवस्था राख्न नमिल्ने बताउन थालेका छन् ।
अध्यक्ष ओलीले गरेको दुई अध्यक्षको प्रस्ताव प्राविधिक रुपमा एकतासँग मेल नखाने महासचिव ईश्वर पोखरेलले आज बताउनुभयो ।
यसैबीच एमालेमा एकताको प्रयास चदिरहेका बेला ओली समूहको स्थायी कमिटी बैठकमा भने विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ ।
आगामी भदौ २७–२८ मा विधान अधिवेशनको निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
बैठकले ३ असोजमा देशभरका वडा अधिवेशन र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
यो निर्णय अनुमोदनका लागि २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको थिएन ।
उपाध्यक्ष वामदेव गौतम भने आजको बैठकमा सहभागी हुनुभएको थियो ।