काठमाडौं । नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले एमाले अध्यक्ष केपी ओलीलाई छोड्न उहाँका समर्थकहरुलाई सुझाव दिनुभएको छ । “पार्टीमा भविश्य खोज्ने हो र बुद्धि छ भने ओलीका समर्थकहरुले ओलीलाई छोड्नु पर्छ, उहाँलाई बोकेर पार्टी चल्दैन, पार्टी एक हुदैन,” डा दीक्षितले भन्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले ओलीको बोली र व्यवहारमा पागलपन देखिएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले अति गरेकोे आरोप लगाउदै उहाँले ओलीलाई राम्रो मान्नेहरुले पनि अव ओली खत्तम नै रैछन जस्तो मान्न थालेको बताउनुभयो ।
ओलीले आफुलाई राजा महाराजा जस्तो मान्ने, राणा शैलीमा प्रस्तुत हुने, संविधान र कानुन लत्याउने, अध्यादेशका भरमा शासन गर्न खोज्ने, विक्रिती र विसंगतीपूर्ण निर्णयहरु गर्ने, गलत कामहरु गर्नेलगायतका कारणले ओली ओरालो लागेको उहाँको भनाई थियो ।
उहाँले ढाल्नै पर्ने सरकार ढालिदिएर माधव नेपाल पक्षले ठिक गरेको बताउनुभयो । तर नेपाल पक्षले र्याली निकालेको र अखिल फोर्स गठन गरेकोप्रति भने उहाँले आपत्ति जनाउनु भयो ।
“भिडभाड गर्ने, बल प्रदर्शन गर्ने माधव नेपाल पक्षले जे गरेका छन, त्यो उनीहरुले गर्न हुदैन, गर्न सुहाउदैन, यस्ता गतिविधिहरु सवै नेताले बन्द गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कोरोनाभाइरको महामारी फैलिदै गएका बेला यस्ता गतिविधि गर्नु गैह्रजिम्मेबारपूर्ण व्यवहार भएको उहाँको भनाई । डा. दिक्षितले विद्यालय र अस्पतालहरु चलाएर सफल भएका उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेबारी दिनु ठिक भएको धारणा राख्नुभयो ।
“स्कुल, हस्पीटल चलाएको सफल मान्छेले यहाँ पनि सफल भएमा सवै नेपालीलाई फाइदा हुन्छ, उहाँलाई लोभ छैन, भ्रष्टाचार गर्नु पर्ने छैन,” उमेशलाई स्वास्थ्य राज्य मन्त्री बनाएर धेरै राम्रो काम भयो, उहाँले भन्नुभयो ।