काठमाडौँ – एमालेमा एकता कि विभाजन भन्नेमा वारपारको लडाई अझै केही दिन लम्बिने भएको छ।
वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउने दोस्रो तहका नेताहरुको प्रयासका कारण विभाजन कि एकता भन्ने निर्णय लिन केही दिन समय लाग्ने भएको हो।
अध्यक्ष केपी ओलीले माधवकुमार नेपालबिनै एकता प्रक्रियालाई टुंगोमा पु¥याउने अडान लिए पनि दोस्रो तहका नेताहरुले अझै केही समय पर्खन दबाब दिएका छन्।
तर दुवै समूहले एकताका लागि अब ढिलो गर्न नहुने नेता गोकर्ण विष्टले बताउनुभयो। एकताका लागि अझै ढिलो गरे पार्टीले थप क्षति बेहार्नुपर्ने उहाँको भनाई थियो।
एकताका लागि अझै केही समय पर्खन नेताहरुले दबाब दिएपछि आजको स्थायी कमिटी बैठक रोकेर एकताको खोजी गर्न अध्यक्ष ओली सहमत त हुनुभयो तर अब माधव नेपाललाई एमालेमा स्थान नरहेको घोषणा पनि उहाँले आज फेरि गर्नुभयो।
पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै माधव समूहबिनै अघि बढ्ने गरी ओलीको अभिव्यक्ति आएको हो।
आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउनेहरुलाई अपराधीको संज्ञा दिँदै ओलीले उनीहरुलाई एमालेमा ठाउँ नरहने घोषणा गर्नुभएको हो।
तर एमालेमा माधवकुमार नेपाल बाहेकको एकता सम्भव नै नरहेको विद्रोही समूहका नेताहरुले बताएका छन्।
माधव नेपाल एमालेका लागि ओली भन्दा महान नेता भएको र माधव नेपाल जहाँ उभिन्छन् त्यहाँ पार्टी रहने नेता जगन्नाथ खतिवडाले बताउनुभयो।
माधव नेपाललाई एमालेमा स्थान नरहेको ओलीको अभिव्यक्तिलाई उहाँले विभाजनकारी अभिव्यक्तिको संज्ञा दिनुभयो।
ओलीले माधव नेपाललाई निकाल्नै खोजेका हुन् भने नयाँ कम्युनिष्ट पार्टीको जन्म हुने पनि उहाँले बताउनुभयो।
यता वरिष्ठ नेता माधवकुमार नेपालले फेरि जालझेल गरेर प्रधानमन्त्री बन्ने सपना नदेख्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिनुभएको छ।
आज काठमाडौँमा आयोजित अखिल फोर्सको कार्यक्रममा नेपालले फेरि पनि प्रधानमन्त्री बन्न जालझेल गरिरहेको आरोप ओलीलाई लगाउनुभयो।
उहाँले संविधान र संसद जोगाउन देउवाको पक्षमा आफूहरुले भोट खसालेकाले यो सरकार राम्रोसँग चल्नुपर्ने बताउनुभयो।
दोस्रो तहका नेताहरुले एकताको प्रयास गरे पनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका अभिव्यक्तिहरु एकतासँग पटक्कै मेल खाने खालका छैनन्।
पछिल्लो समय ओलीलाई अध्यक्ष नमान्ने माधव नेपालको नयाँ अडानले एकता प्रक्रियामा अत्तो थापेको छ। त्यसैमा ओलीका उत्तेजक अभिव्यक्तिले एकताको डोरी झनै कमजोर पारिरहेको छ।