काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलनविरोधी र देशद्रोहीको संज्ञा दिनुभएको छ । एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई आज सम्बोधन गर्दै ओलीले अब उहाँलाई पार्टीमा कुनै ठाउँ नरहेको उद्घोषसमेत गर्नुभएको छ ।
‘माधव नेपालजस्ता आन्दोलनविरोधी र देशद्रोहीलाई अब एमालेमा कुनै ठाउँ छैन,’ ओलीले भन्नुभयो, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने !’
अध्यक्ष ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाउनुभयो ।
‘लगभग दुई–तिहाइको स्थितिलाई बहुमतमा पु¥याए । प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन् ।’
सो अवसरमा ओलीले आगामी चुनावमा आफ्नो पार्टी (एमाले)ले बहुमत ल्याउनेसमेत दाबी गर्नुभयो ।
यसैबीच, एमालेको विघटित एकता कार्यदलका नेताहरूबीचको आजको छलफल पनि कुनै ठोस निचोडमा नपुगि सकिएको छ । अध्यक्ष ओलीले आजै स्थायी कमिटी बैठक बोलाएको सन्दर्भमा कार्यदलका सदस्यहरु सिंहदरबारस्थित एमाले संसदीय दलका उपनेताको कार्यकक्षमा छलफलमा जुटेका थिए ।
झण्डै साढे दुई घण्टाको छलफलपछि निस्केका कार्यदल सदस्यहरुले छलफलको कुनै ठोस निष्कर्ष भने सुनाउन सकेनन् । उपनेता सुवास नेम्वाङले आफूहरु निरन्तर छलफलमा लागिरहेको बताउनुभयो ।
नेता गोकर्ण विष्टले पनि आफूहरु कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको जानकारी दिनुभयो । बिष्टले एकतामा धेरै ढिला हुँदा पार्टीमा क्षति पुग्ने पनि बताउनुभयो ।
यसैबीच, एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । तुलसीलाल स्मृति भवन च्यासलमा केहीबेरपछि बैठक सुरु हुने नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ । केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिनुभयो । तर आजको बैठकमा वरिष्ठ नेता नेपाल पक्ष सहभागी नहुने भएको छ ।