Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गोप्य छलफलमार्फत पावर सेयरिङ र मन्त्री छान्दै सत्तागठबन्धनका नेता

गोप्य छलफलमार्फत पावर सेयरिङ र मन्त्री छान्दै सत्तागठबन्धनका नेता

  • बिहिवार, श्रावण १४ २०७८

  • 865
    SHARES

  • गोप्य छलफलमार्फत पावर सेयरिङ र मन्त्री छान्दै सत्तागठबन्धनका नेता

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई मन्त्रालय र मन्त्री छनोटको जिम्मेवारी दिएका छन् । आज विहान माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डसँग छलफल गरेका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरु बसेर पावर सेयरिङ मिलाउन भनेको उनीनिकट स्रोतले जनाएको छ । देउवाले त्यसका लागि नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्कालाई खटाएका छन् ।

    यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी तथा जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईबीच गोप्य वार्ता भइरहेको स्रोतले जनाएको छ ।

    नयाँ बानेश्वर आसपासमा गठबन्धनका नेताहरुबीच गोप्य वार्ता भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । पावर सेयरिङमा उनीहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतको भनाइ छ । काँग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालयमा दाबी गरेको छ । यस्तै माओवादी केन्द्रले सात र जसपाले ६ मन्त्रालय पाउनुपर्ने अडान राखेको बुझिएको छ ।

    यसैबीच, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केही दिन आफ्नो पक्षमा नाममा मन्त्रालय बाँकी राखिदिन आग्रह गरेकाले पनि काँग्रेस, माओवादी र जसपाबीच पावर सेयरिङमा कुरा मिल्न सकेको छैन । स्रोतका अनुसार नेपाल पक्षलाई कत्तिमा ६ मन्त्रालय छोड्नुपर्ने परिस्थिति छ । यस्तो अवस्थामा कसरी पावर सेयरिङ मिलाउने भन्नेमा काँग्रेस, माओवादी र जसपा नेता सकसमा परेका छन् । पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै देखिएपछि नेताहरु गोप्य रुपमा बैठक बसेर मन्त्रालय र मन्त्रीको टुंगो लगाउन जुटेको बुझिएको छ ।

    काँग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मासहितका नेताहरूले मन्त्रीका लागि दाबी गरेका छन् । यस्तै पौडेल पक्षबाट, सुजाता कोइराला, दिलेन्द्र बडू, डा. मीनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन् ।

    माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, लगायतले लबिङ गरिरहेका छन् ।

    यता, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजै भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको बेला त्यसअघि देउवाले प्रचण्डसँग परामर्श गरेका हुन् ।

    भेटमा देउवाले माओवादीको तर्फबाट सरकारमा सहभागी हुनेहरुको नामावली छिटो दिन आग्रह गरेको बताइएको छ ।

     


    बिहिवार, श्रावण १४ २०७८१२:२२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij