Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

चार पूर्वमाओवादी नेता एमाले हैनौँ भन्दै अदालत गएपछि एमाले र माओवादी केन्द्रको प्रतिक्रिया कस्तो?

चार पूर्वमाओवादी नेता एमाले हैनौँ भन्दै अदालत गएपछि एमाले र माओवादी केन्द्रको प्रतिक्रिया कस्तो?

  • बुधवार, श्रावण १३ २०७८

  • 1.6K
    SHARES

  • चार पूर्वमाओवादी नेता एमाले हैनौँ भन्दै अदालत गएपछि एमाले र माओवादी केन्द्रको प्रतिक्रिया कस्तो?

    काठमाडौँ – माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका पूर्व सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।

    उतिबेला पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमाले प्रवेश गरेर मन्त्री बनेका पूर्व माओवादी नेताहरुले अहिले सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दायर गरेका हुन् ।

    माओवादी केन्द्रका तर्फबाट सांसद बनेका तर पछि एमाले प्रवेश गरेका भट्ट, रायमाझी, साह र चौधरी एमाले प्रवेश गरेपछि पार्टीले सांसद पदबाट हटाएको थियो ।

    चारैजना पूर्व सांसदले आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको माग गरेका छन् । आफूहरुले एमालेको सदस्यता समेत नलिएको उनीहरुको जिकिर छ ।

    तर सार्वजनिक रुपमा माओवादी केन्द्र त्यागिसकेको, आफूहरु एमाले बनिसकेको भन्दै एमालेको विभिन्न जिम्मेबारीमा समेत रहीसकेका नेताहरुले अहिले आफूहरुले माओवादी केन्द्र त्याग नगरेको दाबी गर्नुले आफू आश्चर्यमा परेको माओवादी नेता दिनानाथ शर्माले बताउनुभयो ।

    राष्ट्रिय स्तरका नेताहरुबाट यो खालको अविश्वासको वातावरण श्रृजना हुनु सुखद घटना नभएको उहाँले बताउनुभयो ।

    शर्माले अदालतमा रिट हाले पनि अब पार्टीले कारबाही गरिसकेका नेताहरुको सांसद पद पुनर्बहाली होला भन्ने आफूलाई नलागेको बताउनुभयो । तर आत्मालोचना गरेर माओवादी केन्द्रमा फर्किन चाहे पार्टीले निर्णय गर्ने कुरा हुने बताउनुभयो ।

    तत्कालीन नेकपा र पछि अदालतले ब्युताएको एमालेमा आफूलाई साथ दिएका पूर्व माओवादी नेताहरुलाई अध्यक्ष केपी ओलीले डढेलोपछि उम्रिएका विरुवाको रेखदेख आफूले गर्ने भन्दै छहारी दिन खोज्नुभएको थियो ।

    तर विकसित घटनाक्रमहरुले माओवादी छाडेर ओलीलाई साथ दिन एमाले छिरेका नेताहरु घरको न घाटको स्थितिमा पुगेका छन् । यद्यपि अब उनीहरु माओवादी केन्द्रमा फर्किन्छन भन्ने कल्पना आफूहरुले नगरेको एमाले सचेतक विशाल भट्टराईले बताउनुभयो ।

    पूर्व माओवादी नेताहरुले अदालतसमक्ष गरेको माग भने जायज रहेको उहाँले बताउनुभयो ।

    सांसद पद गुमाएको करिब तीन महिनापछि सर्वोच्च अदालत पुगेका पूर्व माओवादी नेताहरुले आफूहरुले नेकपा माओवादी केन्द्र नछाडेको जिकिर गरेका छन् ।

    तर उनीहरुले विगतमा ओलीको गुण्गान गाउँदै प्रचण्डलाई गाली गरेर अब आफूहरु एमाले भैसकेको र माओवादी केन्द्रमा नफर्कने भन्दै गरेका भाषणहरु जनताले बिर्सेका छैनन् ।


    बुधवार, श्रावण १३ २०७८०७:५२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij