काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्दै संविधानका धारा ७६ (५) अनुसार सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाले सत्तारोहणको १३ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन ।
असार २८ गते सर्वोच्चले दिएको आदेश अनुसार २९ गते साँझ प्रधानमन्त्री नियुक्त भइ सपथ लिनुभएका देउवाले सोही दिन गृह र अर्थसहित चार मन्त्री नियुक्त गरेपनि त्यसपछि मन्त्रिपरिषद् विस्तारले गति लिन सकेन । यद्यपि, उहाँले आज समानुपातिक सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
देउवा नेतृत्वको सरकार कांग्रेससहित नेकपा माओवादी केन्द्र, एममालेका वरिष्ठ नेता माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम पक्ष र राष्ट्रिय जनमोर्चाबीचको गठबन्धनबाट निर्माण भएको हो । पाँच दलीय यो गठबन्धनको सरकार धेरै सांसदहरुको ‘मन्त्रीमोह’का कारण मन्त्रिपरिषद् विस्तारमै अल्झिएको देखिन्छ ।
प्रतिनिधिसभामा कांग्रेसको मुख्य सत्ता साझेदार दल माओवादी केन्द्रका ४९ सांसद छन् । उनीहरु सबैले मन्त्री बनाइदिन दाबाब दिँदा आफू मानसिक तनावमा परेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो ।
सबै सांसद मन्त्रीको आकांक्षी भएपछि कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्नेमा आफू ठूलो द्वविधामा रहेको उहाँको भनाइ छ । मन्त्री नभए वा आफूअनुकूलको पद नपाए नेतृत्वलाई नै सरापेर हिँड्ने प्रवृत्ति अहिलेको परिपाटीभित्र रहेको भन्दै अध्यक्ष प्रचण्डले चिन्तासमेत व्यक्त गर्नुभयो ।
संविधानले बढीमा २५ जनाको मन्त्रिमण्डल बनाउन पाउने सीमा निर्धारण गरेको छ, यस्तो अवस्थामा सबैको चित्त बुझाउनुपर्ने चुनौतीको सामना गरिरहनुभएका प्रचण्डको चिन्ता बढ्नु स्वभाविक नै हो । नेताहरुले गफ मात्रै आदर्शको छाँट्ने तर सबैको ध्यान भने मन्त्री वा ठूला पद पाइन्छ कि पाइँदैन भन्नेतिरै केन्द्रित रहेको पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले बताउनुभयो ।
प्रधानमन्त्री देउवा अहिले गठबन्धनमा सामेल दलहरुसँगको छलफल तथा उनीहरुको निर्णयको प्रतिक्षामा हुनुहुन्छ । सत्तारुढ दल कांग्रेसका सह–महामन्त्री प्रकाश शरण महतले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण कांग्रेस वा प्रधानमन्त्री नभएको बताउनुभयो ।
बरु सत्ता साझेदार दलहरु सरकारमा सामेल हुने वा नहुने र कसलाई मन्त्री बनाउने भन्नेबारे निर्णयमा पुग्न नसक्दा मनित्रपरिषद् विस्तार हुन नसकेको नेता महतको भनाइ छ ।
यता, अर्को सत्ता साझेदर दल जसपाको उपेन्द्र–बाबुराम पक्ष पनि आन्तरिक विवादका कारण अलमलमै देखिएको छ । मन्त्रीको आकांक्षी धेरै हुनुलाई स्वभाविक नै मान्नुपर्ने र यसलाई नेतृत्वले मिलाएर लान सक्नुपर्ने जसपा नेताहरुको तर्क छ । यद्यपि, मन्त्री बन्ने हानथाप आफूहरुको पार्टीभित्र नभएको जसपामा महन्थ ठाकुर पक्षबाट उपेन्द्र–बाबुराम पक्षमा लाग्नुभएका नेता राजकिशोर यादवले बताउनुभयो ।
महामारीको त्रास ज्यूँका त्यूँ रहेको अवस्थामा सबैभन्दा जरुरी मानिएको स्वास्थ्य मन्त्रालयमा मन्त्री नियुक्त गर्न ढिलाइ गरेको भन्दै देउवा सरकारको बिषेश आलोचना सुरु भएको हो ।
कोरोना, बाढी–पहिरोलगायतका विभिन्न विपत्तिबाट जनतालाई जोगाएर सरकार हुनुको अनुभूति दिलाउने मुख्य अभिभारा बहन गर्नुपर्ने बेलामा आएको देउवा नेतृत्वको सरकारले तत्कालै मन्त्रिमण्डल विस्तार गरेर नयाँ स्पिरिडमा काम गर्ने धेरैको अपेक्षा थियो ।
तर नयाँ सरकार गठनको झण्डै दुई हप्ता वित्न लाग्दासमेत मन्त्रिमण्डलले नै पूर्णता पाउन नसकेपछि देउवा सरकारमाथि जनस्तरबाटै चासो, चिन्ता र आलोचना सुरु भएको छ ।