काठमाडौँ — नेकपा (एमाले)को विवादले संसदीय समितिमा फाँडभैलोको रुप लिएको छ । संसद् पुनःस्थापनापछि पहिलोपटक आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्षबीच भनाभन भएसँगै भाँडभैलो मच्चिएको हो ।
बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् पुनर्जीवित भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले संघर्षबाट संसद् पुनःस्थापना भएको बताए ।
नेता नेपाललगायत बोलेको केही समयपछि बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षका सांसद नारदमुनि राना प्रवेश गरे । आफ्नो बोल्ने पालो आएपछि उनी नेता नेपालमाथि खनिए । संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको उनले आरोप लगाए ।
‘संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिइरहेका बेला कहाँ थिए’, उनले प्रश्न गरे, ‘आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले जिम्मेवारी लिनुपर्छ ।’
सांसद रानाले नेता नेपालसहितका सांसदप्रति कटाक्ष गर्दै आफ्ना भनाइलाई निरन्तरता दिएपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित भएका थिए ।
त्यसपछि नेता नेपाल पनि बोल्न थाले ।
आक्रोशित हुँदै नेता नेपाल र सांसद भट्टले ’प्रतिगमनका मतियारहरू बाहिर जानुस्’ भने ।
प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी बोलेका उनीहरुको आरोप थियो । उनीहरुलाई कांग्रेसका सांसदहरूले पनि साथ दिए । उनीहरु पनि सांसद रानामाथि नै खनिए ।