काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्ष समेत रहनुभएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको टिप्पणी गर्नुभएको छ।
संसद विघटन सम्बन्धी मुद्दामा अदालतको फैसला र प्रधानमन्त्रीमा देउवाको नियुक्तिप्रति प्रतिनिधिसभामा नेम्वाङले आज पनि विरोध जनाउनुभएको थियो।
नेम्वाङको विरोधप्रति लक्षित हुँदै प्रधानमन्त्री देउवाले संविधानसभाका अध्यक्षबाटै संविधानको गलत व्याख्या भएको टिप्पणी गर्नुभएको हो।
आजको संसद बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै नेम्वाङले सर्वोच्चको परमादेशबाट राज्यका अंगबीच सन्तुलन खलबलिएको बताउनुभयो।
नेम्वाङले धारा ७६ (५)को गतल ढंगले व्याख्या र प्रयोग भएको भन्दै विरोध जनाउनुभएको थियो।
कांग्रेस र माओवादी केन्द्रले आफ्नो दललाई अनुशासनमा राख्न ह्वीप लगाएको तर एमालेका हकमा ह्वीप लाग्दैन भनेर अनुशासनहिन काम गरेको भन्दै नेम्वाङ प्रधानमन्त्री देउवामाथि खनिनुभएको थियो।
झण्डै एक घण्टा समय लिएर अदालतको फैसला र देउवाको नियुक्तिप्रति विरोध जनाएका नेम्वाङलाई प्रधानमन्त्री देउवाले ६ मिनेटमै कडा जवाफ फर्काउनुभयो।
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई देउवाले संविधानमा धारा ७६ (५) किन लेख्नुभयो भनेर प्रतिप्रश्न गर्नुभयो।
नेम्वाङले नै संसद अब कहिल्यै विघटन हुँदैन भनेर बोलेको आफूले झलझली सम्झिरहेको देउवाले बताउनुभयो।
उहाँले आफू संविधान र राष्ट्रपतिको आह्वानअनुसार नै प्रधानमन्त्री भएको दाबी गर्दै परमादेश भन्नु गलत भएको जिकिर गर्नुभयो।
संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा बढी नेम्वाङलाई थाहा भए पनि उहाँले गलत व्याख्या गरेको प्रधानमन्त्रीको आरोप छ।
प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने अदालतको फैसलाप्रति एमालेले लगातार विरोध गर्दैै आएको छ।
उसले देउवालाई विश्वासको मत दिने माधवकुमार नेपाल समूहमा रहेका २२ जना सांसदलाई पनि स्पष्टीकरण सोधेको छ।
तर हिजो बाटो बिराएका सबैलाई आम माफी दिने अध्यक्ष केपी ओलीको घोषणाले माधव समूह झनै चिडिएको छ।
पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा हिजो ओलीले एकताका लागि माधव नेपालसहित सबैलाई आममाफी दिने घोषणा गर्नुभएको थियो।
जवाफमा आज आयोजित एक कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले श्री ५ महाराजधिराजबाट आफूहरुलाई आममाफी घोषणा भएको भन्दै अध्यक्ष ओलीप्रति कटाक्ष गर्नुभयो।
नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेर महाराजधिराज शैली अपनाएको बताउनुभयो।
सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधार नआएको नेपालको ठम्याइ छ।
संसद विघटन सम्बन्धी मुद्दामा अदालतको फैसलापछि एमाले एकता सहज हुने अपेक्षा गरिएको थियो।
तर ओली सत्ताबाट बर्खास्त भएसँगै एमाले एकताको डोरी झनै कमजोर बनेको देखिन्छ।
योबीचमा ओली र नेपालबीच भेटवार्ता गराउने दोस्रो तहका नेताहरुको प्रयास पनि सफल हुन सकिरहेको छैन।