काठमाडौँ – आफूहरुलाई आम माफी दिने एमाले अध्यक्ष केपी शर्मा ओलीको घोषणाको कुनै अर्थ नरहेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले बताएका छन्।
ओलीले अवैधानिक रुपमा घोषणा गरेको कारबाही नै आफूहरुले स्वीकार नगरेका बेला आममाफी दिने घोषणाको कुनै मूल्य नरहने माधव समूहका नेताहरुको भनाइ छ ।
एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरु पार्टीमा आए आममाफी दिने बताउनुभएको थियो ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गर्नुभएको थियो ।
बाटो बिराएका र भड्किएकाहरु पार्टीमा फर्कन चाहे आममाफी दिने घोषणा ओलीले गर्नुभएको थियो ।
तर एमालेको माधव समूहका नेताहरुले भने आममाफी दिने ओलीका घोषणाको कुनै अर्थ नरहेको बताएका हुन् ।
माधव समूहका नेता जगन्नाथ खतिवडाले कारबाहीको तुफान पनि आफै ल्याउने र आममाफी भयो भनेर शान्त पनि आफै पार्न खोज्ने ओलीको कार्यशैलीको कुनै अर्थ नरहने बताउनभुयो ।
आफूहरुले पार्टीभित्र उठाएका मुद्दाहरु सम्बोधन हुनुपर्ने उहाँले बताउनुभयो । मुद्दाहरु लत्याउने अनि आममाफी भयो भनेर घोषणा गरेर ओलीले मनको लडु घ्यूसँग खाएको नेता खतिवडाले बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, ‘हामीलाई आममाफीको घोषणा गर्न उहाँ को हो?’
यसअघि आजै वरिष्ठ नेता नेपालले आफ्नो घर छाड्न कसैले नचाहने तर अपमान सहेर बस्न पनि नसक्ने बताउनुभएको थियो ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले आफूले बनाएको घर त्यसै कसैले छाड्न नचाहने तर अपमान सहेर बस्न पनि नसकिने बताउनुभएको थियो ।
अहिले बाँदर जुलुस लगायतका गतिविधि गरेर पार्टीभित्र अराजकता प्रस्तुत भैरहेको उहाँको भनाइ थियो ।
यसैबीच नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।
आज सकिएको बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन र पार्टी एकताका लागि आम माफी दिएर भए पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।