काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्य वितरणमा धाँधली भएको भन्दै जनकपुरका कांग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।
प्रक्रिया विपरीत सदस्यता वितरण भएको आरोप लगाउँदै बुधबारदेखि जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता एवं कार्यकर्ताले रिले अनसन थालेका हुन् ।
काठमाडौँमा पाँच दिनदेखि कांग्रेस धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहितका नेता आमरण अनसनमा छन् ।
उनकै समर्थनमा जनकपुरमा पनि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बस्ने गरी अनसन जारी छ । तरुण दलको केन्द्रीय सदस्य नरेश यादवका अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र ४ मा क्षेत्रीय सभापतिले धाँधली गरी सदस्यताको वितरण गरेको छ ।
जिल्लाबाट पठाएको प्रतिवेदनको आधारमा सदस्यता वितरण हुनु पर्ने र प्रक्रिया विपरीत वितरण गरिएको सदस्यता रद्ध गर्नुपर्ने उहाँको माग छ ।
वडा सभापतिको जानकारीबिनै अन्य पार्टीबाट आएकालाई सदस्यता दिइएको यादवले बताउनुभयो । पार्टीलाई कब्जा गर्न र आफू सुरक्षित हुन यस्तो गरिएको उहाँको भनाइ छ ।
धनुषा निर्वाचन क्षेत्र नं. १ को सभापति जितनारायण यादव हुनुहुन्छ भने निर्वाचन क्षेत्र नं. ४ को सभापति योगी पञ्जियार हुनुहुन्छ ।
उनीहरूले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो बर्चश्व देखाउन पार्टीको विधान विपरीत कार्य गरेको आरोप लागेको छ । धनुषामा १२ हजार क्रियाशील सदस्य थिए ।
१२ हजार पुनः थप्ने पार्टीको संस्थागत निणर्य भए पनि सात हजार मात्रै थपिएको छ । धनुषामा करिब १९ हजार क्रियाशील सदस्य छन् ।