Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओली गुटमा पहिरो, २० सांसद माधव गुटमा भित्रिँदै!

ओली गुटमा पहिरो, २० सांसद माधव गुटमा भित्रिँदै!

  • बुधवार, श्रावण ६ २०७८

  • 1.8K
    SHARES

  • ओली गुटमा पहिरो, २० सांसद माधव गुटमा भित्रिँदै!

    काठमाडौँ – केपी शर्मा ओली सत्ताबाट बर्खास्त भएसँगै नेकपा एमालेको संस्थापन समूहमा पहिरो गएको छ ।

    ओली गुटका सांसदहरु धमाधम वरिष्ठ नेता माधवकुमार नेपाल गुटमा भित्रिन थालेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ८ जना सांसदहरु ओली समूहबाट विद्रोह गरेर माधव समूहमा भित्रिएका थिए, जुन अनपेक्षित घटना थियो ।

    यसरी ओली समूह परित्याग गर्ने सांसदहरुको संख्या अझै बढ्दै जाने नेताहरुले दाबी गरेका छन् ।

    २०÷२५ दिनभित्रै एमालेमा आफूहरुको बहुमत पुग्ने परिस्थिति निर्माण भैरहेको माधव समूहका नेता मेटमणि चौधरीको दाबी छ ।

    ओली समूहमा पिल्सिएर बसेका तर बोल्न नसकेकाहरुको सानो हैन ठूलो समूहले विद्रोह गरेर माधव नेपाललाई साथ दिने उहाँको दाबी छ ।

    ओली गुटबाट सांसद तान्न अहिले पूर्वमन्त्री प्रेमबहादुर आले र सांसद किसान श्रेष्ठ सक्रिय छन् ।

    माधव समूहको बैठकमा सांसद श्रेष्ठले १५÷२० जना सांसद आफूले तान्न सक्ने दाबी गर्दै बहुमत निर्माण गरेर ओलीलाई हटाउने रणनीति लिन माधव नेपाललाई आग्रह गरेको श्रोतको दाबी छ ।

    श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदै माधव समूहमा भित्रिएका नेता हुन् ।

    उहाँले सर्वाेच्चको फैसलाको सम्मान गर्न आफू माधव समूहमा आएको बताउनुभयो ।

    हुन त एकातिर ओली समूहका सांसदहरु माधव समूहमा भित्रिन थालेका छन् भने अर्काेतिर माधव समूहमै रहेका नेताहरुले पनि नेता नेपालको साथ छाड्ने तयारी गरेका छन् ।

    भीम रावलले समेत बैठक बहिष्कार गरेपछि माधव समूह पनि संकटमा रहेको विश्लेषण भैरहेको छ ।

    तर नेता मेटमणि चौधरीले एकताको वातावण बनाउन नेताहरुले गरेको कसरतलाई गुट त्यागेको भन्न नमिल्ने बताउनुभयो ।

    माधव समूहमा कुनै संकट नरहेको उहाँले दाबी गर्नुभयो ।

    पूर्वमन्त्री प्रेमबहादुर आलेले पनि माधव समूहमा १५ देखि २० सांसद थप्ने दाबी गरेर सोही अनुसार कसरत गरिरहेको विश्वस्त श्रोतको दाबी छ ।

    आलेले प्रधानमन्त्री देउवालाई ओली समूहका ८ सासदको मत दिलाउने बचन पूरा गरेको चर्चा छ ।

    फेरि पनि बहुमत जुटाएर एमालेमा ओलीलाई अध्यक्षबाट हटाउने र राष्ट्रपतिलाई महाभियोगसम्म लगाउने तयारी भैरहेको श्रोतले बताएको छ ।

    राजनीतिक विश्लेषक डा. लोकराज बरालले सत्ता र शक्तिको नजिक रहन सांसदहरुले गुट फेर्ने विषय नौलो नरहेको बताउनुभयो ।

    अहिले ओली समूहले गरिरहेको अराजक क्रियाकलापले पनि माधव समूह थप बलियो बन्दै जाने उहाँको विश्लेषण छ ।

    हाल एमालेमा १ सय २१ जना सांसद छन् । ती मध्ये हालै भित्रिएका ८ सहित माधव समूहमा झण्डै ३१ जना सांसद रहेको अनुमान छ ।

    माधव समूहका नेताहरुको दाबी पत्याउने हो भने छिट्टै ओली गुट त्यागेर थप १५ देखि २० जना सांसदले माधव नेपाललाई साथ दिने तयारी छ ।

    २० जना थपिएछन् भने पनि माधव समूहको जम्मा सांसद संख्या ५१ पुग्ने छ ।

    दलमा बहुमत पुग्न कम्तीमा ६१ जना सांसद आवश्यक पर्ने भएकाले एमालेमा तत्काल माधव समूहको बहुमत जुट्ने सम्भावना कमै देखिन्छ ।

    तर नेपालको राजनीतिमा अनुमान गरिए भन्दा फरक दृष्यहरु देखिने गरेकाले माधव समूहमा बहुमत जुट्ने सम्भावनालाई नकार्न भने सकिँदैन।


    बुधवार, श्रावण ६ २०७८०७:२७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij