काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने भएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले डिजिटल भोटिङ प्रविधिको विकास गरेको हो । विभागले आज जारी गरेको विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
‘कोरोना भाइरस महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले डिजिटल भोटिङको आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरिएको हो’, विज्ञप्तिमा भनिएको छ ।
केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेको खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।
डिजिटल भोटिङ केन्द्र र सातवटै प्रदेशको महाधिवेशनमा प्रयोग गरिने छ । ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजनासमेत बैठकले तय गरेको छ ।
‘साथै, जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।


