काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ ले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्नुभएको छ । विप्लव ओलीलाई भेट्न आज बालकोट पुग्नुभएको हो ।
महासचिव विप्लवले ओलीसँग आफ्नो राजनीतिक छलफल भएको बताउनुभएको छ । भेटमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेता सहभागी थिए ।
ओली प्रधानमन्त्री हुँदा विप्लव नेतृत्वको नेकपाले सरकारसँग तीन बुँदे सहमति गरेको थियो । सो सहमति सरकारी पक्षबाट पालना नभएको विप्लव पक्षको गुनासो छ ।
यसै विषयलाई लिएर पछिल्लो समय विप्लवले राजनीतिक भेटघाटलाई तीब्रता दिनुभएको छ ।
उहाँले यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेतासँग भेट गरिसक्नुभएको छ ।
छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।