काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । आज बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
केन्द्रीय सदस्य माधव ढुंगेलका अनुसार बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यन्वयनमा लगे पनि माधव नेपालले नमानेको बताउनुभयो । बैठकमा आउन आग्रह गर्न गएका कार्यदलका सदस्यहरुसँग नेपालले आफू अल्पमतमा रहेको बैठकमा नआउने जवाफ दिएर पठाएको ओलीले बताउनुभएको छ ।
‘कोटेश्वर घर पुगेका कार्यदललाई अल्पमतको बैठकमा जान्न भन्ने जवाफ आयो । भीम रावलहरुले देउवालाई विस्वासको मत नहाँलौ, पार्टी एकताबद्ध बनाउँभन्दा म विधि निर्णय मान्दिन एक्लै भएनि भोट हाल्छु भनेर हप्काएर पठाउनुभयो’, बैठकमा अध्यक्ष ओलीले भन्नुभयो ।
ओलीले माधव नेपालले कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेको आरोप लगाउँदै उनलाई क्षमा दिन नसक्ने बताउनुभएको एक नेताले बताए ।
एमालेको अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको छ ।