काठमाडौँ – प्रधानमन्त्रीले मागेको विश्वासको मत सम्बन्धी प्रस्तावमा अहिले दलका नेताहरुले बोल्ने क्रम जारी छ । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी र जसपाका प्रतिनिधिले बोलिसकेका छन् ।
विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलमा भाग लिने क्रममा नेताहरुबीच अदालतको फैसला र प्रधानमन्त्रीको नियुक्ती सम्बन्धी विषयमा सवाल जवाफ चलेको छ ।
सुरुमा विश्वासको मत माग्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको निरन्तरता र कमिकमजोरीहरु सुधार गर्दै जाने बताउनुभयो ।
उहाँले साढे तीन वर्ष सरकारको नेतृत्व गर्नुभएका ओलीलाई असल कामका लागि धन्यवाद समेत दिनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले सरकार प्रतिनिधि सभाप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभयो ।
देउवाले अघिल्लो सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने बताउँदै विश्वासको मत मागे पनि प्रमुख प्रतिपक्षी एमालेले विश्वासको मत दिन नसक्ने बतायो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जस्केलाबाट निर्दलीयता छिराउने प्रधानमन्त्रीलाई समर्थन गर्न नसकिने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री देउवालाई पहिले श्री पाँच ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनाएको भन्दै व्यङ्यात्मक टिप्पणी गर्नुभयो ।
एमाले प्रवक्ता ज्ञवालीले अदालतबाट प्रधानमन्त्री नियुक्त भएको भन्दै देउवालाई व्यङ्ग्य गरेपछि कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रतिवाद गर्नुभयो ।
उहाँले अदालतले प्रधानमन्त्री नियुक्त गरेको नभइ संविधान पनि छ है मुलुकमा भनेर तत्कालीन प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्मरण गराएको जिकिर गर्नुभयो । रिजालले सत्ता कसरी चल्छ भनेर अब नेपाली जनताले हेर्ने बताउनुभयो ।
विश्वासको मतमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अदालतले संविधानको धारा ७६ को ५ को व्याख्या मात्रै गरिदिएको बताउनुभयो ।
उहाँले संसद पुनःस्थापनापछि एमालेका सबै सांसदहरु पनि खुशी भएको बताउनुभयो । उहाँले व्यत्तिवादी अहंकार त्याग्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो । अहंकारको नतिजा अहिले ओलीले भोग्दै गरेको उहाँले बताउनुभयो ।
ओलीसँग पार्टी एकता प्रस्ताव लगेर आफूले गम्भीर गल्ती गरेको पनि उहाँले बताउनुभयो । दुईतिहाइको सरकार ढलेर यस्तो अवस्था आउने थाहा भएको भए आफूले केपी ओलीसँग पार्टी एकता प्रस्ताव नै नलाने उहाँले उल्लेख गर्नुभयो ।
विश्वासको मत सम्बन्धी प्रस्तावमा बोल्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले परमादेशबाट प्रधानमन्त्री चयन भएका भए पनि प्रधानमन्त्री देउवालाई आफूहरुले विश्वासको मत दिने बताउनुभयो ।
उहाँले आफूहरुका माग सम्बोधन गर्ने आश्वासन दिएपछि देउवालार्य मत दिन तयार भएको बताउनुभयो ।
सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि आज पहिलो बैठक बसेको हो । पहिलो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुभएको हो ।
विश्वासको मत सम्बन्धी प्रस्तावमा केहीबेरमा मत विभाजन हुने छ । सिंगो जसपाले साथ दिने भएपछि प्रधानमन्त्री देउवाले एमालेबिनै विशवासको मत पाउने पक्का भएको छ।