काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताउनुभएको छ ।
पुनःस्थापित संसद्को आइतबार बसेको पहिलो बैठकमा मन्तव्य राख्दै सभामुख सापकोटाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनको कदम असफल भएको उल्लेख गर्नुभएको हो ।
सर्वोच्च अदालतको असार २८ गतेको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना भएको हो ।
सभामुख सापकोटाले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको समेत बताउनुभयो । ‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ । प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ’, सभामुखले भन्नुभयो, ‘प्रतिनिधिसभाको पुनःस्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिल्नेमा मेरो विश्वास छ।’
सभामुख सापकोटाले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएकोमा सम्पूर्ण माननीय सदस्यहरुलाई बधाई दिँदै स्वागत गर्नुभयो । उहाँले प्रतिनिधिसभाको सार्वभौम अधिकारलाई पुनःस्थापित गर्न आफ्नो तर्फबाट योगदान पु–याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत, नागरिक समाज एवं आम जनसमुदायलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रतिनिधि सभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसरमात्र नभइ सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहं दायित्व पनि थपिएको उहाँको भनाइ छ।