काठमाडौं– नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताउनुभयो ।
यसैबिच, नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्समा हिँड्न चाहेको बताउनुभएको छ ।
एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका ज्ञवालीसहितका नेताहरुले आइतबार विहान वरिष्ठ नेता नेपाललाई भेटेका थिए । भेटमा विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारीबारे छलफल भएको थियो ।
ज्ञवालीका अनुसार नेता नेपालले एउटा विन्दुमा पुसिकेको हुनाले आफूले देउवालाई मत दिने बताएका थिए । नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरुले सहमतिअनुसार जे गर्दा पनि संस्थागत रुपमा निर्णय गर्नुपर्ने बताएका थिए ।
‘उहाँले आफू बहुमतमा नभएको कमिटी, अल्पमतमा भएको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने कुरा पनि गर्नुभयो । यसको तात्पर्य पार्टीलाई एकतावद्ध बनाएर लैजान उहाँ इच्छुक हुनुहन्न भन्ने देखियो’, स्थायी कमिटीको बैठकपछि ज्ञवालीले भने, ‘उहाँ बेग्लै कोर्समा हिँड्न चाहनुभएको देखियो ।’
यद्यपि नेता नेपाललाई रोक्न उनी पक्षका नेताहरुले अहिले पनि प्रयत्न गरिएरहेका ज्ञवालीले बताए ।